मोदीको नेपाल भ्रमणले ओलीको ढोंगी राष्ट्रवाद छताछुल्ल–प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले प्रधानमन्त्री केपी ओलीको ढोंगी राष्ट्रवाद छताछुल्ल भएको बताएका छन् ।

मोदी भ्रमणको क्रममा पाइला पाइलमा नेपाली राष्ट्रियता तथा स्वाभिमानमाथि धावा बोलिँदा समेत ओली सरकार निरीह भएको नेता पौडेलले बताए । पूर्वाञ्चलका विभिन्न जिल्लाको भ्रमणपछि झापामा पत्रकारसँगको भेटमा नेता पौडेलले भने, ‘विगतमा अरुलाई राष्ट्रियताको पाठ पढाउने ओलीले यस पटक राष्ट्रियताको सवालमा इ ग्रेड ल्याएका छन्, उनले लगाएको राष्ट्रियताको नक्कली मुकुण्डो उदांगिएको छ’  राष्ट्रवादको नक्कली जलप लिएर चुनावी मैदानमा ओर्लिएका ओलीले नाकाबन्दीका कारण प्रताडित लाखौं नेपालीको पक्षमा एक शब्द समेत खर्चन नसकी मोदी समक्ष निरीह देखिएकोमा पौडेलले आश्चर्य व्यक्त गरे ।

केन्द्र भन्दा प्रदेशलाई प्राथमिकता दिएको भारतीय कुटनीतिको नेपाल मूकदर्शक हुँदा भविष्यमा धेरै प्रक्रियागत त्रुटी जन्माउन सक्ने उनको आशंका थियो । नागरिक अभिनन्दन नागरिक स्तरबाट एकै ठाउँमा हुनु पर्नेमा त्यसो नभएको भन्दै पौडेलले मोदीलाई गरिएको अभिनन्दन झुण्ड विशेषको मात्र भएको बताए । छिमेकी देशका प्रधानमन्त्री सामुन्ने प्रदेश नम्बर दुईका मुख्यमन्त्रीले संविधानको विषयलाई लिएर गरेको टिप्पणी खेदजनक भएको भन्दै नेता पौडेलले त्यस्तो टिप्पणीको कडा शब्दामा भत्सर्ना गरे । आफूलाई इतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री दाबी गर्ने ओलीले मुख्यमन्त्रीलाई कुनै कारवाही नगरी उनको भनाइ प्रति असन्तुष्टि मात्र जनाउनुको कुनै तुक नभएको पौडेलको टिप्पणी थियो ।  

‘जनकपुरमा ओलीले मोदी झै देखिने गरी राजस्थानी पोशाक लगाउनु उनको व्यक्तिगत विषय हो । तर, चन्द्र सूर्य अंकित नेपाली वीर योद्धाहरुको इतिहास जोडिएको रक्त रञ्जित झण्डालाई लिएर गरिएको भद्दा मजाकका कारण देश विदेशका सबै नेपालीको शीर निहुरिएको छ’ पौडेलले भने । ‘राष्ट्रिय स्वाभिमानसँग जोडिएको झण्डा प्रकरणका विषयमा छानबिन समिति गठन गरी दोषीलाई कडा कार्वाही गर्न हाम्रा राष्ट्रवादी प्रधानमन्त्री ओलीलाई के ले छेकेको छ’  पौडेलले प्रश्न गरे ।

ऐतिहासिक तथ्य विपरीत जनकपुरको विषयमा भारतीय सांसद कीर्ति आजादको टिप्पणी निर्लज्जताको पराकाष्ठा भएको समेत पौडेलले बताए । मोदी भ्रमणका क्रममा भारतीय कमाण्डोको अनावश्यक उपस्थितिले नेपाली सार्वभौमसत्तामा गम्भीर प्रश्न खडा भएको भन्दै उनले यसको जिम्मेवारी पनि वर्तमान ओली सरकारले लिनुपर्ने बताए । प्रेस स्वतन्त्रताको वकालत गरेर नथाक्ने वर्तमान सरकारले नेपाली भूमिमा नै नेपाली संचारकर्मीहरुलाई निर्वाध समाचार तथा तस्विर संकलनमा रोक लगाउनु अत्यन्त निन्दनीय काम भएको उनले बताए । पूर्वाञ्चल भ्रमणका क्रममा पौडेलले ताप्लेजुङमा जिल्ला सम्मेलनको उद्घाटन गरेका थिए भने पाँचथरमा शिक्षक संघ स्थापना दिवसको कार्यक्रममा सहभागिता जनाए । इलाम र झापामा भने उनले पार्टी नेता तथा कार्यकर्ताहरुसँग भेट गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?