पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍यालीको शुभारम्भ

लोकपथ
133
Shares

काठमाडौं । पशुपतिनाथ मन्दिरबाट “पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली” को शुभारम्भ भएको छ ।

बिहीबार पशुपतिका मूल भट्टको समुपस्थितिमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रुपमा उक्त र्‍यालीको उद्घाटन गरेका हुन् ।

र्‍यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकल प्रेमीहरुको सहभागीता थियो । भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्‍यालीको उद्देश्य रहेको बताइएको छ । साथै हाम्रा दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने उद्देश्य पनि र्‍यालीको रहेको छ ।

कार्यक्रममा मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धको बारेमा बताउनुका साथै मोटरसाइकल र्‍यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना दिएका थिए। त्यस्तै भारतीय राजदूतले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेलेको भूमिका बारे बताए।

सो र्‍यालीमा सहभागीहरुले कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्नेछन् ।

यात्राका क्रममा र्‍याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्नेछ । यात्राका झलकहरु दूतावासको सामाजिक सञ्जालमा हेर्न सकिनेछ ।

स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा यस र्‍यालीको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?