कालीकोट सदरमुकाममा जडान गरिएका सीसीटीभी क्यामरा बिग्रिए

RSS
84
Shares

मान्म । कालीकोटको सदरमुकाम मान्म बजारमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामरा बिग्रिएका छन् । सदरमुकामको मान्म बजार जिरो प्वाइन्ट, प्रतिमाचोक, बीच बजार, पुरानो बसपार्कलगायतका २८ ठाउँमा सीसीटीभी क्यामरा जडान गरिएका थिए ।

स्थानीय सरकार, वित्तीय संस्था, उद्योगी तथा व्यापारीको सहयोगमा जडान गरिएको २८ वटा सिसिटिभी क्यामरामध्ये हाल तीनवटा मात्र सञ्चालनमा रहेका छन् । मान्म बजारका सार्वजनिक स्थानमा राखिएका सीसीटीभी क्यामरामध्ये अधिकांशले काम गर्न छाडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्रबहादुर शाहले बताए ।

‘२८ वटा सीसीटीभी क्यामरामध्ये तीनवटाले मात्र काम गर्छन् ।’ उनले भने, ‘धुवाँ, धुलो, पानी, चट्याङका कारणले क्यामरा बिग्रिएका हुनसक्छन् ।’ सिसिटिभी क्यामरा बिग्रिँदा बजार क्षेत्रमा हुने आपराधिक घटना, चोरी, सवारी दुर्घटनालगायतका घटनाको अनुसन्धानमा समेत समस्या आएको प्रहरी प्रमुख शाहले बताए ।

‘जडान गरिएका सीसीटीभी क्यामराबाट विगतमा अपराध अनुसन्धान सजिलो भएको थियो’, उनले भने, ‘विगतमा सीसीटीभी क्यामरामार्फत आपाराधिक घटनामा संग्लनलाई पक्राउ गर्न र घटनाको अनुसन्धान गर्न सजिलो भएको थियो ।’

सिसिटिभी क्यामरा बिग्रिएको जानकारी आफूले पाएको र बिग्रिएका सीसीटीभी क्यामरा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटाइने खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘प्राविधिक टोली खटाएर सीसीटीभी क्यामरा मर्मत तथा नयाँ राख्ने काम हुनेछ’, उनले भने ।

सिसिटिभी क्यामरा जडानका लागि कर्णाली प्रदेश सरकारको रु २० लाख, खाँडाचक्र नगरपालिकाको १० लाख रुपैयाँ र वित्तीय संस्था तथा अन्य संघ संस्थाको १० लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?