दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ ।
सोमवार बसेको गाउँ कार्यपालिकाको बैठकले गत वर्षातको समयमा घर भत्किएकालाई राहत प्रदान गर्ने निर्णय गरेको हो । वर्षाले पूर्ण क्षति भएका घरधनीलाई ६० हजार रुपैयाँ, आंशिक क्षति भएकालाई ३० हजार रुपैयाँ र कम क्षति भएका परिवारलाई १५ हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
गाउँपालिकाले गाउँ फर्क अभियानअन्तर्गत एक लाख रुपैयाँ अनुदान दिने भएको छ । कहीँ पनि घर नभएका ऋषिङका नागरिकलाई गाउँ फर्किए एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरिएको हो । त्यसका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
बसाइँ सरेर गएका गाउँका नागरिकलाई फर्काउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । चालु वर्षमा १५ घर फर्किने पालिकाको अनुमान छ । सोहीअनुसार १५ लाख रुपैयाँ विनियोजन गरेर कार्यक्रम अघि बढाइएको श्रेष्ठले बताए । तर अनुमानभन्दा बढी आए पनि रकम व्यवस्थापन गर्ने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया