बैठक सकिनेवित्तिकै कांग्रेसमा विवाद सुरु, रामचन्द्र एकाएक खनिए देउवाविरुद्ध

काठमाडौं– नेपाली कांग्रेसको केन्दीय समिति बैठकका निर्णय बाहिर आउनेवित्तिकै सो पार्टीको विवाद पनि बाहिर आएको छ ।
 बैठकको निर्णयका सन्दर्भमा नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाएको हो । पौडेल समूहले बहुमतको बलमा निर्णय भएको भन्दै सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेको छ ।
 बैठक सकिएलगत्तै पार्टी कार्यालय सानेपामा आइतबार साँझ पत्रकार सम्मेलन गरी नेता पौडेलले बहुमतको बलमा विधान विपरित बैठकबाट निर्णय गरिएको आरोप लगाए ।
बैठकले भोलिनै निर्वाचित केन्द्रीय समिति बैठक बोलाएर  पदाधिकारी मनोनयन गर्ने तय गरेको बताइएको छ । सो निर्णयमा पौडेल समूहको असन्तुष्टि रहेको बताइएको छ । देउवाले पदाधिकारीमा सबै आफू निकटकालाई मनोनयन गर्ने तयारी गरेसँगै त्यो बुझेर पौडेल समूह रुष्ट बनेको बताइएको छ ।
बैठक सकिएसँगै महामन्त्री शशांक कोइरालासँगै प्रवक्ता शर्मा पत्रकार माझ उपस्थित भएका थिए भने सोलगत्तै पौडेलले पनि छुट्टै पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
पौडेलको पत्रकार सम्मेलनमा  हेमराज गुरुङ, गगन थापा, कल्याण गुरुङ, रामशरण महतलगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको  थियो ।

बैठकले आगामी भदौमा महासमिति बैठक बालाउने  निर्णय गरेको सन्दर्भमा पौडेल सन्तुष्ट रहेपनि अरु विषयमा असन्तुष्ट रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?