दशैँ लागेसँगै बजारमा बढ्यो चहलपहल : व्यवसायी भन्छन्- ‘सुनको हाहाकार छ’

दशैँ लागेसँगै सुन बजारमा चहलपहल बढेको छ ।

कोरोना महामारीका कारण झण्डै दुई वर्षसम्म थला परेको सुन बजारमा रौनकता आउन थालेको हो । अहिले दशैँका लागि बजारमा सुन किन्नेको भीड देखिएको छ ।

बजारका हरेक सुन पसलमा अहिले ग्राहकको भीडभाड छ । कोरोना संक्रमणका कारण अघिल्लो वर्षदेखि थला परेको बजारमा संक्रमण कम भएसँगै सुधार आउन थालेको हो ।

फर्किएला त लयमा ?

भूकम्प तथा कोरोना संक्रमणका बेला पूर्ण रूपमा ठप्प भएको सुन बजार अब लयमा फर्कन थालेको छ । बजारमा सुन अभाव नहुने हो भने भूकम्प कोरोना संक्रमण हुँदाको तुलनामा यतिबेला सुनको कारोबार बढ्न थालेको छ । सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले लामो समयपछि सुन बजार लयमा फर्किन थालेको बताए ।

‘बजारले लय समात्न थालेको छ’, उनले भने । हरेक वर्षको दशैँ तिहारमा सुन बजारमा राम्रो कारोबार हुनेगर्छ । सामान्यतया दैनिक रूपमा ३०/३५ केजीको हाराहारीमा सुन बिक्री हुनेगरेको छ । चाडबाड र विवाहको लगनमा ५०/६० केजीको हाराहारीमा सुनको बिक्री हुन्छ ।

चर्कियो सुनको अभाव

चाडबाड र विवाहको लगनका बेला ५०/६० केजीको हाराहारीमा सुनको बिक्री हुनेगरेको भए पनि आयात कम हुँदा बजारमा सुनको अभाव विकराल रुपमा बढेको सुन व्यवसायीहरू बताउँछन् । विभिन्न वाणिज्य बैंकमार्फत दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरी सरकारले कोटा निर्धारण गरेको छ । तर बजारको माग भने दैनिक ३० देखि ३५ केजीको हाराहारीमा छ । सरकारले सुन आयातको कोटा २० केजीमा सीमित गरेका कारण बजारमा अभाव विकराल बन्दै गइरहेको व्यवसायीको भनाइ छ ।

‘सुनको अभाव यति विकराल बन्दै छ कि अब अर्डर आउने गरगहना पनि बनाउन सक्ने अवस्था छैन’, संस्थापक अध्यक्ष शाक्यले भने ।

सुन अभाव भएका कारण चाडबाडका बेला व्यवसायीले मनग्य कारोबार गर्न नपाएको उनी बताउँछन् ।

ब्ल्याकमा सुन किन्न बाध्य

बजारमा सुनको भाव चर्किएपछि ब्ल्याकमा सुन किनेर गरगहना बनाउन बाध्य भएको व्यवसायी बताउँछन् । सरकारले २० केजी मात्रै सीमा तोक्दा व्यवसायीलाई सास्ती भएको बताउँछन् । सरकारले सुनको आयात कम गर्ने तर बजारमा माग बढी हुँदा व्यवसायी ब्ल्याकमा सुन किन्न बाध्य छन् ।

‘सुनको हाहाकार हुँदा व्यवसायीहरू ब्ल्याकमै भए पनि सुन किन्न बाध्य छन्’, शाक्यले भने ।

कोरोना संक्रमणका कारण लामो समय सुन बजार थला परे पनि पछिल्लो समय बजार लयमा फर्किएसँगै कारोबार बढेको छ । यस्तो बेलामा बजारमा सुन नहुँदा व्यवसायीसहित सेवाग्राही समेत मारमा परेको शाक्यको तर्क छ ।

सुनको कोटा बढाउन माग

बजारमा सुन अभाव भएपछि व्यवसायीहरूले पटक–पटक कोटा बढाउन माग गर्दा पनि सरकारले कोटा नबढाएको व्यवसायीको गुनासो छ । तर राष्ट्र बैंकले भने सुनको कोटा बढाउन आवश्यक नभएको जनाएको छ ।

‘बजारको अवस्था अध्ययन नगरी व्यवसायीले भनेका भरमा कसरी कोटा बढाउने ?’, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने ।
त्यसैले तत्काल सुनको कोटा नबढाउने राष्ट्र बैंकले संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?