काठमाडौं । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्वाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । पर्यटन क्षेत्रमा आबद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञहरुले पर्यटन व्यवसाय पूर्ण रुपमा संचालन हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका हुन ।
आइतबार काठमाडौंमा पत्रकारसँग भेटघाट कार्यक्रम कार्यक्रममा बोल्दै नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय घिमिरेले नेपालमा पर्यटन व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै सरकारले भ्याक्सिनेटेड पर्यटकको भिसा अन अराइभलको व्यवस्था गर्नुपर्ने बताए । उनले पर्यटन प्रवर्द्धन, विकास र सहजरुपमा सञ्चालन गर्नको लागि सरकारले पर्यटनसम्बन्धी निर्णय लिने हरेक बैठकमा निजी क्षेत्रका व्यवसायीहरुलाई पनि समेट्नु पर्ने बताए ।
प्रमुख कार्यकारी अधिकृत घिमिरेले भने, ‘आज हामीले पर्यटन क्षेत्र पूर्ण रुपमा खोल्नुपर्छ भन्ने माग गरिरहेका छौँ, यो धेरै लामो समयदेखि राख्दै आएको माग हो, अब हामीलाई एउटा त्यस्तो सिस्टमको आवश्यक्ता परेको छ, जहाँ प्राइवेट सेक्टर समावेश गरिनुपर्छ, जस्तो सीसीएमसी छ भने त्यो भित्रको हरेक बैठकमा प्राइवेट सेक्टरलाई, अलि धेरै लगानी भएको व्यक्तिलाई प्रेजेन्टेसन गर्नुपर्छ, हामीले यसअघि पनि धेरै पटक सीसीएमसीलाई ड्राफ्ट पठायौँ तर कहिल्यै त्यसको निचोड निकालेन, यसरी पार लाग्दैन, हाम्रो माग भनेको भ्याक्सिनेटेड पर्यटकलाई आउन दिनुपर्यो र पीसीआर रिपोर्ट नेगेटिभ आइ ९६ घण्टा ननाघेका पर्यटकहरुलाई क्वारेन्टाइनमा राख्नुभएन ।’
कार्यक्रममा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले सीसीएमसीले व्यावसायीलाई हाउगुजी बनाएको बताए । उनले त्यहाँ बस्नेहरुले विभिन्न स्वार्थले गर्दा पर्यटन व्यवसायीहरु मारमा परिरहेको आरोप लगाए । अध्यक्ष गुरागाईंले अब पनि पर्यटन व्यावसाय चल्न नदिए सडक र सिंहदरबार घेर्ने चेतावनी दिए ।
त्यस्तै होटल एसोसिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणाले सरकारले कोरोनाको महामारी चलिरहे पनि देशको अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताइन् । उनले पर्यटन व्यवसायीहरुको बाच्ने आधार भनेकै पर्यटक भएकोले सरकारले यसलाई चासोका साथ पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र भ्याक्सिनेटेड पर्यटकलाई अन अराइभल भिजाको व्यवस्था गर्नुपर्ने बताइन् ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले विगत डेढ वर्षदेखि कोरोनाका कारण बन्द रहेको पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्यटकहरु भित्राउनुपर्ने बताए । उनले सरकारले पूर्ण कोरोना भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा ९६ घण्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने यात्रीहरुलाई बिना क्वारेन्टाइन र सहज यात्राको वातावरण मिलाइदिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया