काठमाडौं । अनलाइन टीभी पत्रकार संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा हेडलाइन नेपाल टीभीका पत्रकार सञ्जीव रेग्मीलाई केही व्यक्तिले भौतिक कारबाही गर्ने चेतावनी दिएको र काठमाडौंको स्थानीय प्रशासनले पक्राउ गर्न खोजेकोप्रति विभिन्न संघ संस्थाले आपत्ति जनाएका छन् ।
नेपाल पत्रकार महासङ्घ र अनलाइन टीभी पत्रकार संघले आज छुट्टाछुट्टै वक्तव्य जारी गर्दै समाचार प्रकाशन गरेकै आधारमा मार्ने धम्की दिनु र धम्की दिनेको झुटो उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न खोज्नु आपत्तिजनक रहेको जनाएका छन् ।
हेडलाइन नेपाल टीभीको कार्यक्रम ‘हेडलाइन विशेष’ मा सागर थापा भन्ने व्यक्तिले ठगी गरेको विषयमा समाचार सामग्री प्रसारण गरेपछि थापा सम्बद्ध व्यक्तिहरुले भौतिक कारबाहीको धम्की दिएको र प्रहरीले पक्राउ गर्न खोजेको पत्रकार रेग्मीले जानकारी दिए ।
थापाले विभिन्न ठगी धन्दा गरेकोलगायत विषयमा धेरै पीडित तथा सरोकारवालाले गुनासो गरेको विषयमा समाचार सामग्री प्रसारण भएपछि प्रहरीले थापालाई पनि पक्राउ गरेको छ । थापाले पक्राउ पर्नुअघि र थापाकी पत्नी शान्ति बस्नेत र आफूलाई सामाजिक अभियानकर्मी बताउने सिर्जना वाग्ले पक्राउपछि फोन तथा सामाजिक सञ्जालबाट भौतिक कारबाहीको धम्की दिएको पत्रकार रेग्मीले बताए।
साथै थापा पत्नी शान्तिले प्रमाणबिना झुटो आरोप लगाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी गरेकै आधारमा पत्रकार रेग्मीलाई पक्राउका लागि प्रहरी अधिकारी टीभीको कार्यालयमा जानुका साथै कार्यालय र निवासमा निगरानी गरिरहेको दुवैको वक्तव्यमा उल्लेख गरिएको छ ।
महासङ्घका महासचिव रोशन पुरी र सङ्घका महासचिव पवन फुँयालद्वारा जारी वक्तव्यमा प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे कानूनी उपचारमा जान सकिने व्यवस्था हुँदा हुँदै पत्रकार रेग्मीलाई एकातिरबाट भौतिक कारबाहीको धम्की र अर्कोतिर राज्य पक्षबाट पक्रने प्रयास प्रेस स्वतन्त्रताविपरीत भएको उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया