अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको अभियोगमा पक्राउ

लोकपथ
21
Shares

काठमाडौं । अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महाराजगंज घर भई बूढानिलकण्ठ नगरपालिका–८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारी रहेका छन् । भण्डारीलाई करिब ९ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न औषधिसहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बूढानिलकण्ठ गल्फूटार क्षेत्रमा केही व्यक्तिहरुले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधिहरु भन्सार छली चोरी पैठारी गरी ल्याई अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त औषधिहरू बिनालाइसेन्स बिक्री गरिरहेको अवस्थामा भण्डारीलाई फेला पारी पक्राउ गरेको हो ।

भण्डारीले भारतमा रहेका आफन्तमार्फत उक्त औषधिहरु मगाई विगत लामो समयदेखि काठमाडौंका विभिन्न औषधि पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?