लकडाउन अवधिको घरभाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न मोबाइल व्यवसायीहरुको माग

लोकपथ
112
Shares

काठमाडौं । कोभिड संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घरभाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मोबाइल व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले लकडाउन अवधिको घर भाडा वापतको रकम आयकरबाट समायोजन हुने व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले सरकारले अन्य उद्योगलाई सहुलियत ब्याजदरमा ऋण प्रवाहको व्यवस्था गरेपनि आफूहरुलाई नगरेको भन्दै असन्तुष्टि समेत गरे । महासंघले राज्यको करछली गरि भित्रिएका मोबाइलहरुलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरु पनि लागिपर्ने प्रतिबद्धता समेत जनाएको छ ।

महासंघका अध्यक्ष भट्टराईले भने, ‘कोरोनाको यस्तो जटिल अवस्थामा राज्यले बन्द गराएको अवधिको घर भाडावापतको रकमलाई आयकरमा समायोजना गरिदिए मात्रै पनि व्यवसायीले ठूलो राहतको महशुस गर्नेछन । यतातर्फ राज्यको ध्यान जाओस् भन्ने जोडदार माग गर्दछु ।

साथै राज्यको कर छलेर अनधिकृत रुपमा भित्रिएका मोबाइललाई करको दायरामा ल्याउने सरकारको नीतिको पूर्ण पालनाको अपेक्षा गरेको छु । कर नतिरी नेपाल छिरेका त्यस्ता मोबाइलका कारण एक त राजश्व गुमेको छ भने अर्कोतर्फ अस्वभाविक प्रतिस्पर्धा सृजना भएको छ ।’

महासंघको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै मोबाइल व्यवसायीहरुले ३ अर्ब ५२ करोड राजस्व राज्यलाई बुझाएका छन् । महासंघका अध्यक्ष भट्टराईले आर्थिक वर्ष ०७५/७६ को तथ्यांकलाई मात्रै हेर्ने हो भने वार्षिक ४२ लाख ७५ हजार सेट मोबाइल नेपाल भित्रिएको र त्यसको बिक्री गरी ३ अर्व ५२ करोड घर राज्यलाई बुझाइएको पनि जानकारी दिए ।

ठूलो मात्रामा कर तिर्ने मोबाइल व्यवसायलाई भने कोरोनाकालमा राज्यले कुनै पनि खालको सहुलियत नदिएकोमा मोबाईल व्यवसायीहरुको गुनासो छ । उनीहरुले मोबाइल व्यवसायको पुनर्जीवनका लागि पनि ऋण प्रवाहमा अन्य व्यवसायलाई जस्तै सहुलियत दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?