ऐतिहासिक तथा पुरातात्विक सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु

लोकपथ
175
Shares

काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।

२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो ।

सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उनले सो सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्ने पनि स्पष्ट पारे । समितिले पूरानै मौलिकतालाई कायम राखेर सो सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर विश्वलाई नै नमूना उदाहरण पेश गर्न सक्षम हुने दाबी समेत गरेको छ ।

समितिका अध्यक्ष शाक्यले भने, ‘यो सम्पदाको पुनर्निर्माणको काम नियमित भईरहेको छ । यो काम अव अन्तिमतिर आईरहेको छ । अव हामीले झिंगटी छाउने काम गरिरहेका छौं । अव यो काम सम्पन्न गर्न अझै केही महिना लाग्छ । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर यसको पुनर्निर्माण हुन्छ ।

काष्ठमण्डप आफैंमा काठमाडौंको ठूलो मौलिक सम्पदा हो । सातौं शताब्दीमा बनेको काष्ठमण्डप यसको मौलिकतालाई बचाएर पुनर्निर्माण गर्नु ठूलो उपलब्धि हो । यो सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वकै लागि नमूना हो ।’

हालसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना तय गरिएको समितिका अध्यक्ष शाक्यले बताए ।

काठैकाठको प्रयोग, झिंगटीको छाना, चारकुने इँटका गरा, लेसाइलो मोटाको लिपाइ र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो–काष्ठमण्डप । समितिले सोही मौलिक प्रविधिको उपयोग गरी यसको पुनर्निर्माण गरेकाले काम सम्पन्न गर्न समय लागेको पनि स्पष्ट पारेको छ ।

करिब १९ करोड लागत अनुमान गरिएको सो ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणको काम अव छिट्टै सक्ने समितिको योजना छ । सोही योजना अनुसार छानो छाउने कामलाई सुरु गरिएको समितिका अध्यक्ष शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?