काठमाडौं महानगरपालिकाकोआह्वानः पार्क निर्माणमा सहयोग गरौं

लोकपथ
42
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ ।

मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गरेका हुन् ।

शनिबार बिहान मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका भित्रका सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भएपनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा पार्क बन्न नसकेको गुनासो गरे ।

पर्याप्त बजेट छ, तर पार्क निर्माणका लागि स्थानीयबासीको सहयोग नहुँदा कतिपय ठाउँमा पार्क बनाउन नसकिएको मेयर शाक्यको भनाइ छ । उनले राम्रो पार्क बनाउने र राम्रो करिडोर बनाउने काममा काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको पनि दोहोर्‍याउनु भयो ।

मेयर शाक्यले भने, ‘कम्तिमा पनि हरेक वडामा एउटा पार्क बनाउनुपर्छ भनेर नीति बनाएका छौं । सार्वजनिक जग्गाहरु धेरै छन । हिजो भएका पार्कहरुलाई अपग्रेड गर्ने, जहाँ पार्क छैनन् नभएका ठाउँमा नयाँ पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरेका छौं । बजेटको समस्या होइन् तर स्थानीयको सहयोग भएन भने काम गर्न सकिदैन । जहाँ स्थानीयबासीहरुले सहयोग गर्छ, त्यहाँ स्वभाविक रुपमा काम गर्न सजिलो हुन्छ । जहाँ स्थानीयको सहयोग हुँदैन, अवरोध हुन्छ, त्यहाँ काम गर्न गाह्रो हुन्छ ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले भृकुटीमण्डपभित्र ठूलो प्रर्दशनी हल बनाउन काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराए । उनले त्यसका लागि काठमाडौं महानगरपालिकाले समाज कल्याण परिषदसँग प्रस्ताव लैजान ढिलाई गर्न नहुने पनि स्पष्ट बताए । समाज कल्याणको क्षेत्रमा काम गर्ने र परिषद् मातहत रहेको भृकुटीमण्डपमा प्रर्दशनी स्थल बनाउने काममा ढिलाइ गर्न नहुने पूर्वमेयर स्थापितको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?