काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सीमाविद् श्रेष्ठद्धारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै उनले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भु–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरे पनि हालसम्म सो क्षेत्रसहितको भुभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनले बताए । उनले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग कि.मि. थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
उनले भने, ‘अब नेपालको बढेको क्षेत्रफल कति हो त ? सविकमा १ लाख ४७ हजार १८१ वर्ग कि.मि. थियो भने कति बढ्यो ? अहिलेसम्म सरकारले सार्वजनिकीकरण गरेको छैन । यसले गर्दा लोकसेवा आयोगका परिक्षार्थीलाई मार परेको छ । मैले आफैले विभिन्न नक्सा अध्ययन गरेर हेर्दाखेरी साविक क्षेत्रफलमा ८२६ वर्ग कि.मि. भूभाग थपिएको मलाई लाग्दछ । त्यसमा सरकारले भन्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’
पुस्तकमा नेपालको सिमानाको साथसाथै अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रको अध्ययनबाट हासिल गरेका अनुभव र पाएका शिक्षाहरुको सम्बन्धमा पनि उल्लेख गरिएको उनले बताए ।
नेपाल–भारतमा भएका सीमा समस्या, सीमा अध्ययन गर्न जाँदा आफुले भोगेका अनुभुतिहरुसमेत पुस्तकमा उल्लेख गरिएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया