अनलाइन गेमको डरलाग्दो क्रेज, ‘गेमिङ डिसअर्डर’ बारे अभिभावकलाई सुझाव यस्ता

बितेका केही वर्षअगाडिसम्म मानिस शारीरिक व्यायाम तथा खेलकुदमा आफ्नो समय खर्चिन्थे । शारीरिक तथा मानसिक दुवै तवरमा स्वस्थ र तन्दुरुस्त हुने यो नै उपयुक्त विकल्प थियो । भलिबल, फुटबल, टेबुलटेनिस होस् वा अन्य स साना खेलकुदका गतिविधि बालबालिकादेखि सबै उमेर समुहका व्यक्तिहरु यसैमा अभ्यस्त थिए । घुलमिल हुन्थे ।

त्यसैले उनीहरु शारीरिक र मानसिक दुवै अर्थबाट तन्दुरुस्त पनि थिए। तर पछिल्लो समय इन्टरनेटमा सहज पहुँच हुन थालेपछि र पछिल्लो समय कोरोना महामारीका कारण भौतिक उपस्थितिबिना अनलाइनमार्फत पठनपाठन हुन थालेसँगै बालबालिका र अभिभावक मोबाइल, कम्युटर ल्यापटपमा अभ्यस्त हुन थालेका छन् ।

अचेल बालबालिकालगायत प्राय सबै उमेरका मानिसहरु शारीरिक व्यायाम र खेलकुदलाई बिर्सिएर अनलाईन गेममा नै अधिकांश समय बिताइरहेका छन् । यस्ता आधुनिक गेम र इन्टरनेटका सामाग्रीले बालबालिकाहरुलाई शरीरिक र मानसिक दुवै रुपमा कमजोर बनाउने चिकित्सक बताउँछन् ।

नयाँ-नयाँ कम्पनीहरुबाट दिनानुदिन नयाँ नयाँ अनलाइन गेमहरुको विकास र विभिन्न स्किमहरु आइरहेका छन् ।महामारीको समयलाई पक्रँदै यस्ता कम्पनीहरुले अनलाइन गेमहरुलाई अझ प्रभावकारी बनाउन नयाँ-नयाँ उपहार योजना समेत ल्याइरहेका छन् । त्यसैले फुर्सद भयो कि या त लुकिछिपी अभिभावकको आँखा छलेर बालबालिका अनलाइन गेममा नै अधिकांश समय खर्चिरहेका छन् ।

बच्चाहरु त झन् मोबाइलमा गेम भनेपछि हुरुक्कै भएर खाना खान समेत बिर्सिने गरेको अविभावकहरुको गुनासो रहेको छ। यस्ता गेमले गर्दा समयमा खाना नखाने, समयमा नसुत्ने , निन्द्रामा पनि गेमकै विषयमा बोल्ने, बर्बराउने, पढाइमा ध्यान नदिनेजस्ता धेरै समस्याहरु बच्चाहरुमा आइरहेको छ। जसले गर्दा अविभावकहरुलाई बच्चाहरुप्रति मानसिक चिन्ता बढ्न थालेको छ । यस्तो यावत कारणहरुले गर्दा बच्चाहरुमा रचनात्मकताको विकास हुने र यसले संज्ञात्मक सीपको विकाशमा मदत नपुन्ने कुरामा कुनै दुईमत छैन।

विकास र प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिका र युवाहरु मोबाइल , ट्याबलेट, कम्प्युटरलगायत विद्युतीय उपकरणमा व्यस्त हुन थालेका छन् । पब्जी , फ्रीफाइरजस्ता अनलाइन गेममा विषेशगरी बालबालिका २४ घण्टा झुन्निने गरेको गुनासो अभिभावकको छ । जसले गर्दा उनिहरुमा मानसिक असर पारिरहेको छ । घण्टौसम्म अनलाइन गेमिङमा व्यस्त भएपछि त्यस्ता व्यक्तिमा ‘गेमिङ डिसअर्डर’ हुन्छ।

के हो ‘गेमिङ डिसअर्डर’ ?

‘गेमिङ डिसअर्डर’ एकप्रकारको लत हो । कुनै पनि चिजको लत लागिसकेपछि त्यसबाट छुट्कारा पाउन एकदमै गाह्रो हुन्छ । चाहे त्यो गेमिङ लत होस् अथवा अरु कुनै लागुपदार्थ जस्तै चुरोट , जाँड , रक्सी , गाँजा , भाङ । चिकित्सक भन्छन्, ‘आखिर लत भनेको लत नै हो । लत अति भयो भने त्यसले मान्छेलाई बर्बाद गरिदिन सक्छ । यीबाहेक अरु पनि यस्ता लत हुन्छन् जसको बारेमा कमै मानिसहरुलाई थाहा छ । यी लत पनि मदिरा धुम्रपानभन्दा कम हुदैनन् । जस्तै कोही मानिसहरुलाई अरुको सामान चोर्ने लत हुन सक्छ । यस्तै लत हो यो अनलाइन गेमिङ।’

५/६ वर्षका बालबालिकादेखि युवाहरु मात्र होइन । ४० वर्ष कटिसकेका मानिसहरुलाई पनि गेमिङको लतले सताएको पाइन्छ । अहिलेको समयमा कतिपय बालबालिका र युवा वर्ग इन्टरनेट गेमिङ डिसअर्डरको सिकार भएर अस्पताल सम्म पुगेको समचार समेत पढ्न र सुन्न थालिएको छ । यो एक प्रकारको मानसिक रोग हो ।

खेल्न छाड्दा छट्पटि हुने , टाउको दुख्ने , निन्द्रा नलाग्ने , झर्केर बोल्ने , समयमा खाना नखाने , पढाइमा ध्यान नदिनेजस्ता गेमिङ लतको समस्याहरु हुन् । कतिपयमा धैर्य गर्न नसक्नेजस्ता समस्याहरु पनि आउने गरेका छन् । पब्जीजस्ता गेममा धेरैेजस्तो विषयवस्तु हिंसात्मक हुने गर्दछन् । लामो समयसम्म गेममा बिताउँदा दिमागमा गहिरो छाप पर्ने भएकाले बालबालिकाको बाहिर पनि यस्तै क्रियाकलाप देखाउने जोखिम रहनेै डर धेरै हुन्छ ।

गेममा भुल्ने मानिसहरु आफ्नो वरिपरिका मानिसहरसँग धेरै बोल्दैनन् र उनीहरु एक्लै बसेर घण्टौँसम्म खेल्न थाल्छन् । यसले उनीहरुलाई अरुसँग घुलमिल हुने मौका दिँदैन र असामाजिक बनाउँछ । विभिन्न अध्ययनअनुसार महिलाहरुको तुलनामा पुरुषहरुमा गेमिङको लत धेरै हुन्छ । तर पछिल्लो समय महिलाहरु पनि गेमिङमा उत्तिकै सक्रिय भएको पाइएको छ । विशेषगरी बालबालिका र १७ वर्षमुनिका बच्चाहरले रात दिन अनलाइन गेम खेल्ने गरेको पाइन्छ । यो प्रकारको भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ।

गेमिङ लतबाट कसरी जोगाउने त ?

निश्चित समय तोकेर मात्र उनीहरुलाई मोबाइल , ल्यापटप चलाउन दिने गरौँ । साथै अन्य समयमा बालबालिकाहरुलाई एक्लो हुन नदिने गरौँ । उनीहरुसँग कुनै न कुनै रुपमा सहभागी हुने गरौँ । मनोविद्को सुझाव छ, घरायसी कामकाज सिकाउने र उनीहरलाई त्यसमा नै व्यस्त राख्ने कोसिस गरौँ । खानेकुरा बनाउने , बगैंचामा खेल्ने , फूलहरु गोड्न लाउने , बोटबिरुवा रोप्ने तथा गोडमेल गर्ने, आफ्नो खेतबारी जग्गा जमिन देखाउने तथा घुमाउने, चित्रहरु बनाउन लगाउने , मनोरञ्जनका उपायहरु नाच्न गाउन लगाउने आदि ।

उनीहरुसँग घरभित्रै अरु खेलहरु पनि खेल्न सकिन्छ । जसले उनीहरुलाई स्क्रिनमुक्त बनाउन सहयोग गर्छ । बच्चाहरुलाई अनलाइन गेमिङको असरबारे बुझाउनु वा ज्ञान दिनु नै सबैभन्दा उत्तम र प्रभावकारी समाधान हो ।

बालबालिकाहरुलाई घरपरिवार तथा विद्यालयमा यसबारे अनिवार्य जानकारी दिन जरुरी छ । उनीहरुलाई लामो समयसम्म एक्लै मोबाइल, ल्यापटपसँग मात्र समय बिताउन दिनुहुँदैन । बिस्तारै लत बस्दै गएपछि भनेको नमान्ने , झगडा गर्ने , तोडफोड गर्ने हुन्छन् । तसर्थ , सुरुवाती चरणमा नै नियन्त्रण गर्नुपर्छ। लत परिसकेका व्यक्तिहरुलाई मनोविद् तथा मनोचिकित्सकको सहयोगबाट उपचार गर्न सकिन्छ।

यसरी समयमै आफ्नो सन्तानको निगरानी गरी उचित सल्लाह सुझाव दिनसके बालबालिकालाई अनलाइन गेमको लतबाट छुटकारा दिलाउन सकिन्छ यसले अविभावक र बालबालिका दुवैलाई फाइदा पुग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?