काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेको भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भन्ने प्रश्न समेत गरे ।
उनले भने, ‘पुरानो सरकारले हनुमान मात्र देख्यो, नयाँ सरकारले कुलमान मात्र देख्यो । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोजेको हैन । हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिसक्यो । त्यहाँ ५ महिनादेखि हाजिर नभएका कर्मचारीहरुले तलब खाइरहेका छन् । कुलमानले विद्युत प्राधिकरणलाई फाइदामै ल्याएका छन् । तर कुलमान बाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त यो सरकारले ? कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? विद्युत प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? नेपाल एयरलाइन्स् छैन ? अरु संस्थानहरु डुबेका छैनन् ? खालि किन कुलमान मात्रै ?’
यसअघि प्राधिकरणमा चार वर्षे कार्यकाल पूरा गरिसकेका कुलमानलाई सरकारले पुनस् विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
यस्तै, सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन आवश्यक रहेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया