काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको नेबिको प्रालिमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान करिब २ः०० बजेदेखि लागेको आगो नियन्त्रणमा आएको हो ।
आगो नियन्त्रणमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीहरु खएिका थिए । अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको नेपाली सेनाले जानकारी दिएको छ ।
नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालीमा आज बिहान एक्कासी आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ । कम्पनीभित्र प्रज्वलनशील पदार्थ बढी रहेकाले आगलागी नियन्त्रणमा समस्या भएको महानगरीय प्रहरीवृत्त बालाजुका प्रहरी वरिष्ठ उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
“बिस्कुट उत्पादन गर्ने कम्पनीमा घ्यु, मैदा, चिनी, प्लाष्टिकजस्ता सामग्री हुँदा आगोले झन् ठूलो रुप लिन पुग्यो, त्यसैले आगो नियन्त्रणमा समस्या परेको थियो”, डिएसपी बुढाथोकीले भने ।आगलागी शुरु भएपछि बालाजु वृत्तको प्रहरी टोली बिहान २ः२० बजेदेखि नियन्त्रणमा खटिएको उनको भनाइ छ । आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाका नौ दमकल प्रयोग गरिएका छन् । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरेका थिए ।
काठमाडौं महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नेबिको प्रालीमा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रु एक अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालीले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढङ्गले जान लागेका बेलामा आज बिहान एक्कासी आगलागी भएको हो ।
नेबिको प्रालीका ब्राण्ड मेनेजर अरुण पौडेल अहिलेसम्म आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले केकति क्षति भयो भन्नेबारे यकीन तथ्याङ्क निकाल्न नसकिएको बताउछन् । घरभित्र आगो लागेकाले पनि नियन्त्रणमा लिन कठिन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया