काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले विदेशबाट आउने पर्यटकहरुले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताएका छन् ।
उनले विदेशबाट आउने पर्यटकहरुको कोरोना परीक्षण पनि गरेको हुने र भ्याक्सिन पनि लगाएको हुनाले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताए । त्यस्तै उनले ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेको बताए । १० हजार कोरोनाविद्धको भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर भ्याक्सिन लगाउने संघसंस्था अर्को कुनै नरहेको पनि उनले दाबी गरे ।
शर्माले भने, ‘ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले भ्याक्सिन लगाइसक्नुभएको छ । भ्याक्सिन लगाउन विभिन्न कारणले छुट्नुभयो, कोभिडको कारण, वा काठमाडौं भन्दा बाहिर जानुभयो वा अन्य कुराले बिरामी भएर भ्याक्सिन लगाउन पाउनुभएन, त्यो ५ प्रतिशत मात्रै होला । १० हजार भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर आजको दिनसम्म भ्याक्सिन लगाउने संघसंस्था भनेको हामी मात्रै हो, विदेशबाट आउँदा विदेशी पर्यटकहरुले भ्याक्सिन पनि लगाएर आउनुभएको छ, ७२ घण्टाअघि पीसीआर नेगेटिभ आएको छ भने उहाँहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्नुको कुनै अर्थ छैन ।’
कोरोनाको कारणले गर्दा व्यापार व्यवसाय ठप्प भएपछि कतिपय व्यवसायीहरु मानसिक रोगी बनेको समेत उनले बताए । साथै कतिपय व्यवसायीको लाइफस्टाइल १०० बाट १० प्रतिशत तिर गइरहेको उपाध्यक्ष शर्माले बताए ।
उपाध्यक्ष शर्माले भने, ‘सरकारले मौद्रिक नीतिका कुराहरु छिटो नै कार्यान्वयन गर्नुपर्छ । होइन भने एकपछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक (बन्द) भएर बस्दै जाने हो भने कहिलेसम्म हामी यो अवस्थामा बस्न सक्छौँ त ? यसले भोलि हामीमा पनि आत्मबल गिर्छ, कति व्यवसायीक साथीहरुले सुसाइड (आत्महत्या) गरेको अवस्था छ, कति मानसिक रोगी भइसक्नुभएको छ । उहाँहरुलाई फाइनान्सियल टचर छँदैछ भने हिजोको लाइफ स्टाइल पनि आज घटेर १०० बाट १० प्रतिशतमा गइरहेको छ । त्यसैले यसलाई सहज बनाएर लैजाने बाहेक अर्को कुनै पनि विकल्प छैन।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया