क्षतिग्रस्त संरचनाको निर्माण कार्य सुचारु गर्न निर्देशन

लोकपथ
28
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिले अविरल वर्षाका कारण विभिन्न सडक र पुलहरु क्षतिग्रस्त भएकोले क्षतिको कारण पत्ता लगाइ यथाशीघ्र निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा निर्माणाधिन पुल क्षतिग्रस्त भएका र ती पुलहरु क्षतिग्रस्त हुनुका कारण पत्ता लगाई यथाशीघ्र निर्माण कार्य सुरु गर्न निर्देशन दिएको हो ।

समितिले सिरहा– धनुषा जोड्ने सडक अन्र्तगतको कमला पुल र गाइघाट–दिक्तेल अन्र्तगतको त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाइ छिटो पुनः निर्माण कार्य सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी कमला र त्रियुगा नदीको पुल के कारणले क्षतिग्रस्त भयो भन्ने छानबिन गरेर समितिलाई सात दिनभित्र जानकारी गराउन गराउन पनि निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताइन् ।

उनले भनिन्, ‘हालै अबिरल वर्षाका कारण सिरहा, धनुषा जोड्ने हुलाकी सडक अन्र्तगत कमला नदीमा निर्माणाधिन पुल भाँसिएको एवम् गाइघाट दिक्तेल सडकखण्ड अन्र्तगतको त्रियुगा नदीको पुल जग भाँसिएर स्ल्याब खसेको हुँदा निर्माणाधिन अवस्थामा रहेका पुलहरु क्षतिग्रस्त हुनुको वास्तविक कारण पत्ता लगाइ यथाशीघ्र पुल निर्माणको कार्य सुचारु गर्न समिति पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । साथै पुल निर्माणमा भएको प्राविधिक त्रुटी लगायतका भाँसिनुका विविध कारणहरु पहिचान गर्न समितिले उपयुक्त समयमा सो क्षेत्रको स्थलगत अनुगमन गर्ने । कमला नदीको पुल, त्रियुगा नदीको पुल लगायतका पुलहरु के कति कारणले क्षति भएको हो त्यो सातदिन भित्र छानविन गरेर समितिलाई जानकारी दिन मन्त्रालयलाई निर्देशन दिइएको छ ।’

समितिले अरनिको राजमार्ग अन्र्तगतको विभिन्न सडक खण्डहरु क्षतिग्रस्त भएकाले सडकको स्तरोन्नति गर्न, आवश्यक पुलहरुको निर्माण गरी तत्काल यातायात सुचारु गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

त्यस्तै पटक पटक अवरुद्ध हुने नारायणघाट–मुग्लिन सडक खण्डको दिर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाउन र बिना अवरोध यातायात सुचारु गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन गरको समितिकी सभापति खड्काले बताइन् ।

उनले भनिन्, ‘हालैको वर्षाको कारण अरनिको राजमार्ग अन्र्तगत पर्ने विभिन्न सडकखण्डहरु क्षतिग्रस्त भएको हुँदा सो को स्तरोन्नती लगायत त्यस राजमार्गमा पर्ने पुलहरुको निर्माण, पुनःनिर्माण र स्तरोन्नती गरी तत्काल यातायात सुचारु गर्ने व्यवस्था मिलाउन समिति निर्देशन गर्दछ । पहिरोको कारण पटक–पटक अवरुद्ध हुने गरेको नारायणघाट–मुग्लिन सडक खण्डको दिर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाई सो क्षेत्रमा बिना अवरोध यातायात सुचारु हुने व्यवस्था मिलाउन निर्देशन गर्दछ ।’

त्यस्तै समितिले सरकारलाई बाढी, पहिरोबाट सिर्जित समस्याको समाधान गर्न पूर्व सचेतना कार्यक्रम लगायत बाढी, पहिरो नियन्त्रण सम्बन्धी दिर्घकालिन नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हालसम्म १५३ स्थानमा सडक अवरुद्ध भएको बताए । यसमध्ये हाल ११ वटा अवरुद्ध अवस्थामै रहेको, ९३ वटा एकतर्फी चालु अवस्थामा रहेको र ४९ वटा दुवैतर्फ सुचारु अवस्थामा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?