मोरङ । पछिल्लो समय मोरङमा निम्नवर्गका बासिन्दाका लागि आय आर्जनको स्रोत ‘निगुरो’ बन्दै गएको छ । जंगलमा उम्रिने निगुरो उत्तरी ग्रामीण क्षेत्रका बासिन्दाका लागि आयआर्जनको स्रोत बन्दै गएको हो ।
उक्त क्षेत्रका निम्नवर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै नुन भुटुनको जोहो गर्दै आएका छन् ।
उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ । मोरङको उत्तरीक्षेत्रमा अवस्थित यो चारकोशे झाडीमा प्राकृतिक रुपमा उम्रिने निगुरो यसक्षेत्रका निम्नवर्गका मानिसहरुका लागि आयस्रोतको बन्ने गरेको छ ।
उर्लाबारीको उत्तरी वडाका साथै मिक्लाजुङसहित अन्य गाउँपालिका सर्वसाधारण समेत यहाँ निगुरो संकलन गर्न आउँछन । एका बिहानै जंगल प्रवेश गर्ने उनीहरु दैनिक ८ देखि १० घण्टाको समय खर्चिएर निगुरो संकलन गर्छन । मिक्लाजुङ गाउँपालिका ३ की भिममाया विक दैनिक छिमेकी महिलाहरुसँग निगुरो संकलन गर्न आउँछिन् । बिहान ८ बजेदेखी ३ बजेसम्म लगातार टिप्दा प्रायजसो दैनिक एक डोको निगुरो लिएर गाँउ फर्किने गरेको उनले बताइन् ।
मधुमल्ला टाँडीकी देविका दर्जी समेत दैनिक महिलाहरुको समुह बनाएर डुम्रेको यो जंगलमा निगुरो संकलन गर्न आउछिन् । बिहान बेलुकाको घरधन्दाबाट बँचेको समय उनले नियमितरुपमै निगुरो टिप्न खर्चिनुहुन्छ । निगुरो टिपैरै बालबच्चाको भरणपोषण र घरखर्च समेत चलाउने गरेको उनको भनाइ छ ।
मधुमल्लाको टाँडीबाट निगुरो संकलन गर्न आएका मनबहादुर रसाईली पेशाले दैनिक ज्याला मजदुरी गर्ने मजदुर हुन् । पछिल्लो समय कोरोनाका कारण सुुरु भएको लकडाउन र निषेधाज्ञाका कारण ज्यालादारी गुमेपछि उनी समेत निगुरो टिपेरै दैनिक गुजारा चलाई रहेका छन् ।
जंगलबाट संकलन गरिने निगुरो अधिकांश रुपमा गाउँघरमै खपत हुने गरेको छ भने पुर्वपश्चिम महेन्द्र राजमार्गको सडक किनार यसको मुख्य बिक्री स्थल हो । राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीहरुले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित बिक्रीका लागि राखिने निगुरो खरिद गरी लैजाने गरेका छन् । पौष्टिक सागको रुपमा भान्सामा प्रयोग गरिने निगुरो २० रुपैयाँदेखि ३० रुपैयाँ मुठासम्म बिक्री हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया