नयाँ दिल्ली, २० चैत- भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने औपचारिक वार्तामा प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औँ शिखर सम्मेलनसहित सार्क प्रक्रिया अघि बढ्नुपर्ने धारणा राख्दै छन् । ओली र मोदीबीच २४ चैतमा नयाँदिल्लीको हैदरावाद हाउसमा औपचारिक वार्ता हुँदै छ ।प्रधानमन्त्री ओलीले चीन, नेपाल र भारतबीच त्रिपक्षीय समझदारी नेपालले चाहेको र त्यसले तीनै देशको विकास हुने अवधारणा दोहोर्याउनेछन् । तर, भारतले नेपालका दुवै प्रस्तावित अवधारणालाई सकारात्मक रूपमा नलिने संकेत देखिएको छ ।नेपाल सार्कको अध्यक्ष मुलुक हो र १९औँ सम्मेलनमार्फत अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्नुपर्नेछ । दुई वर्षअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमेत सहभागी सार्क मन्त्रिपरिषद्को पोखरा बैठकले पाकिस्तानमा १९औँ शिखर सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, भारतको उरीमा भएको उग्रवादी हमलामा १९ जना भारतीय सैनिक मारिएपछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएका कारण सम्मेलन स्थगित भएको छ ।भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणअघि सरोकारवालासँग विभिन्न चरणमा छलफल गर्ने क्रममा सार्क र त्रिदेशीय समझदारीको नेपाली प्रस्तावलाई सतर्कतापूर्वक हेरिनुपर्ने र जवाफ दिनुपर्ने सुझाब दिएको छ । भारतीय कूटनीतिक स्रोतका अनुसार सार्कसँग सम्बन्धित प्रधानमन्त्री ओलीको प्रस्तावलाई भारतले पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासीको प्रोएक्टिभ कूटनीतिसँग जोडेर जवाफ दिनुपर्ने सुझाब विज्ञहरूको छ । पाकिस्तानसँग आतंकवादका विषयमा बढेको असमझदारी मत्थर नभएसम्म सार्क सम्मेलन इस्लामावादमा गर्न भारत सकारात्मक नहुने जवाफ मोदीले ओलीलाई दिने बुझिएको छ ।नेपालले सार्क सम्मेलन र भारतले बिमस्टेक सम्मेलनमा जोड दिने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले गर्ने सार्कको प्रस्तावलाई भारतले पाकिस्तान कार्डका रूपमा बुझ्नुपर्ने विज्ञको सुझाबलाई विदेश मन्त्रालयले स्वीकार गरेको बुझिएको छ । नयाँ पत्रिकामा खबर छापिएको छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया