रुकुम, २० चैत – भीरबाट लडेर खुट्टा भाँचिएका भेरी नगरपालिका–३, जाजरकोटका ३५ वर्षीय वीरबहादुर नेपाली पैसाको जोहो गर्नतिर नलागी हतारहतार अस्पताल पुगे । दुई सातादेखि रुकुम (पश्चिम)स्थित चौरजहारी अस्पतालमा खुट्टासँगै बाथ रोगको उपचार गरिरहेका उनले भने, ‘डाक्टरसाबले पैसाको चिन्ता नगर्नु, राम्रोसँग उपचार गरेर मात्रै घर फर्किनु भनेका छन् ।’पैसा नहुँदा केही वर्षदेखि अस्पताल नगएका नेपालीले यसपटक भने बाथरोगको उपचारमा २५ हजार लागेको बताए । ‘मैले एक रुपैयाँ पनि तिरेको छैन,’ उनले भने । स्वास्थ्य बिमा गराएका नेपालीले अझै २५ हजार बराबरको निःशुल्क उपचार गराउन पाउनेछन् ।मानसिक समस्याको उपचार गर्न चौरजहारी अस्पताल पुगेकी कुशे गाउँपालिका, जाजरकोटकी ३८ वर्षीया नन्दी चनारा चिन्तामा थिइन् । कुरुवा बसेका आफन्तसँग पनि उपचार खर्चकै कुरा गरिरहेको सुनेपछि स्वास्थ्यकर्मीले ‘पैसाको चिन्ता नगर्नुस्, लाग्दैन’ भनेर सम्झाउनुपर्यो । उपचारमा तीन हजार लागे पनि एक रुपैयाँ नतिरी फर्किएकी उनले भनिन्, ‘सात दिन अस्पतालमा बसाले, औषधिमूलो गरिदिए, एक पैसा पनि लिएनन् ।’स्वास्थ्य बिमा गराएका उनीहरूले निःशुल्क उपचार पाएका हुन् । जसमा दुई हजार पाँचसय रुपैयाँ मात्रै तिरेका थिए । त्यतिवेला विश्वास नलागेको भए पनि अहिले उपचार गराउँदा राम्रो रहेछ भन्ने थाहा भएको नेपालीले बताए ।‘स्वास्थ्य बिमा भर्नुस् । वर्षमा ५० हजारसम्मको उपचार सेवा पाइन्छ भन्थे, खासै विश्वास लागेको थिएन,’ चनाराको पनि उस्तै अड्कल थियो । आर्थिक अवस्था कमजोर भएका परिवारका लागि फाइदाजनक भएको उनको अनुभव छ । ‘बिमाले सजिलो भयो, नत्र ऋणमा डुब्ने थियौँ,’ उनले भनिन् ।स्वास्थ्य बिमाले आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणलाई उपचार गर्न सजिलो भएको चौरजहारी अस्पतालका डा. कालेब बुढाको भनाइ छ । उपचार गर्न आउने अधिकांश बिरामी सित्तैमा उपचार गरेर फर्किंदा खुसी हुने गरेको उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया