उपत्यकामा खोप लगाउने बाहिरका बढी

लोकपथ
560
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित खोप अभियानमा उपत्यकाभित्रका भन्दा बाहिरका मानिस बढी सहभागी हुने गरेको पाइएको छ। जसलाई पनि खोप लगाउन दिने भएपछि उपत्यकाबाहिरबाट जहाज चढेर समेत आएको खोप अभियानमा सहभागी एक महिलाले बताइन्। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले उपत्यकामा रैथानेबाहेक ३० देखि ४० लाख जनसंख्या उपत्यकाबाहिरबाट आएकाहरूको भएकाले त्यसो हुनु स्वाभाविक रहेको बताए। अभियानमा क्रमशः उमेर समूह र अन्य आवश्यकताका आधारमा खोप प्राथमिकता निर्धारण गरिए पनि नक्कली कागजात बनाएर समेत खोप लगाउनेहरू धेरै भेटिएको भनी सुन्नमा आएको उनले बताए।

उपत्यकाबाहिर स्थायी घर भई यहीँ नै व्यवसाय, जागिर, व्यापार गर्नेहरूको संख्या धेरै भएकाले र विदेश जानेहरूले समेत उपत्यकामै आएर खोप लगाउने भएकाले खोप अभियानमा लक्षित संख्याभन्दा बढीलाई दिनुपरेको खड्काको भनाइ छ। ललितपुर महानगरपालिकाले शुक्रबारदेखि ४५ वर्ष माथिकालाई भेरोसेलको खोप अभियान चलाएको छ। ५० वर्ष माथिकालाई अहिलेको मौजुदा खोप लगाएर बढी हुने देखिएपछि ४५ वर्ष माथिकालाई पनि खोप दिन थालिएको ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए। उनका अनुसार जिल्लामा तीन दिनभित्र ५० हजार जनालाई खोप दिने योजना छ।

संक्रमण दर २४.६ प्रतिशत  

शुक्रबार नेपालका कोरोना संक्रमण दर २४.६ प्रतिशत रहेको छ। यो दर अघिल्लो दिनको तुलनामा १ प्रतिशत बढी हो । २४ घन्टामा परीक्षण भएका १४ हजार ६ सय ६१ नमुनामध्ये ३ हजार ६ सय ११ जनामा कोरोना पुष्टि भएको हो। एक सातादेखि बढ्दै गएको कोरोना संक्रमणदर २३ देखि २५ प्रतिशतको हाराहारीमा रहेको छ। थपिएका सहित नेपालका कुल संक्रमित संख्या ७८ लाख ५३ हजार ६ सय ३३ जना (एन्टिजेनसहित) रहेका छन्। तीमध्येमा ४ लाख ५२ हजार ६ सय १ जनामा दोस्रो लहरको अवधिमा संक्रमित भएका हुन्।

शुक्रबार कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। थपिएका सहित नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ जना पुगेका छन्। तीमध्ये दोस्रो लहरको अवधिमा मृत्यु हुनेको संख्या ६ हजार ४ सय ९२ रहेको छ। गत २४ घन्टामा काठमाडौं उपत्यकामा थप ७ सय ८७ जनामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमण दर बढेसँंगै उपत्यकाका अस्पतालमा भर्ना हुने बिरामीको संख्यामा वृद्धि भएका छन्। मन्त्रालयको तथ्यांकअनुसार राजधानीका अस्पताल तथा आइसोलेसन कन्द्रहरूमा ८ सय ८५ जना उपचारार्थ छन्। तीमध्ये १ सय ९३ जनाको आइसियुमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?