काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई ध्यान दिँदै स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकले कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै र सुधार गर्नुपर्ने पक्षलाई ध्यान दिँदै सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले आवश्यक भौतिक संरचना एवम् उपकरणको व्यवस्थापन गर्न तथा खोपको प्रबन्ध गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति निरुदेवी पालले बताइन् ।
उनले भनिन्,, ‘पहिलो र दोस्रो चरणको कोरोना महामारीको तीव्रता, यसको असर एवम् व्यवस्थापनगत वा प्रबन्धगत प्रणालीमा देखिएको सुधार गर्नुपर्ने पक्षहरु, अनुभवहरुबाट शिक्षा ग्रहण गर्दै सन्निकट, सम्भाव्य तेस्रो लहरको कोरोना महामारीको प्रभावलाई अधिकतम रुपमा न्यूनीकरण, रोकथामको पहल गर्न एवम् यस महामारीलाई सामना गर्न शीघ्र पूर्वतयारीसहित परिणामदायी रणनीति बनाउन आवश्यक भौतिक संरचना एवम् उपकरणहरुको शीघ्र व्यवस्थापन गर्न, खोपलगायतका विषयहरुको प्रबन्ध गर्न समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ ।’
समितिले बालबालिकासम्बन्धी विशेषज्ञ स्वास्थ्यकर्मी न्यून रहेकाले स्वास्थ्यकर्मीहरुको प्रभावकारी व्यवस्थापन गर्न र अनिवार्य रुपमा खटाइएको ठाउँमा सेवा गर्नका लागि स्वास्थ्यकर्मीहरुको वृत्तिविकासमा देखिएको द्विविधालाई सम्बोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
सभापति पालले भनिन्, ‘कोभिडको सामना गर्न जनस्वास्थ्यकर्मीहरुको प्राथमिक एवम् महत्वपूर्ण भूमिका रहन्छ । उपलब्ध बालबालिकासम्बन्धी विशेषज्ञ स्वास्थ्यकर्मीहरुको संख्या अपेक्षित रुपमा न्यून रहेको अवस्थामा अन्य उपलब्ध स्वास्थ्यकर्मीहरुको समुचित र प्रभावकारी व्यवस्थापन गर्न, अनिवार्य रुपले खटाइएको ठाउँमा सेवा गर्नैपर्ने गरी स्वास्थ्यकर्मीहरुमा वृत्तिविकाससम्बन्धी देखिएका द्विविधालाई शीघ्र संशोधन गरी उच्च मनोबल कायम गराउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया