काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज दोस्रो सातादेखि नेपालमा कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण गरिरहेको बेला भारतको नयाँदिल्ली जाँचका लागि पठाईएका सबै ४७ वटा नमूनामा ‘डेल्टा भेरियन्ट’ पुष्टि भएपछि थप सतर्कता अपनाउन अनुरोध गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै सम्भावित तेस्रो लहरको चुनौती देखिएकाले तयारी गर्न र थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।
नेपालमा पछिल्ला केहिदिन यता कोेरोना संक्रमितको संख्या बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय २६ जनाको पीसीआर र १ हजार १ सय ७३ जनाको एन्टीजेन पोजेटिभ आएको हो । यो सँगै नेपालमा हालसम्म कुल ६ लाख ८५ हजार ६ सय ७३ जनाको पीसीआर र ५७ हजार १ सय ४४ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सोमवार नेपालमा ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा हालसम्म अल्टा, डेल्टा र कप्पा भेरियन्ट पुष्टि भइसकेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ९ हजार ७ सय ५८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९४ दशमलव ४ अर्थात ६ लाख ४७ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया