भविष्य अझै अन्योलमा रहँदा युभेन्टसको प्रशिक्षणमा फर्किए रोनाल्डो

काठमाडौं। पोर्चुगिज कप्तान तथा ग्लोबल आइकन क्रिस्टियानो रोनाल्डो सोमवार युभेन्टसको प्रशिक्षणमा फर्किएका छन्।

युरो २०२० मा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएसँगै रोनाल्डो पारिवारिक छुट्टीमा गएका थिए। करिब १ महिनाको समय फुटबलबाट टाढा बिताएका रोनाल्डो सोमवार युभेन्टसको प्रशिक्षणमा देखिए।

युरो २०२० मा ५ गोल गर्दै गोल्डेन बुट जितेका रोनाल्डोको युभेन्टससँगको सम्झौता यस सिजनको अन्त्यमा सकिँदै छ। रोनाल्डोले युभेका नयाँ प्रशिक्षक मासिमिलानो एलेग्रीसँग आफ्नो भविष्य बारे छलफल गर्नेछन्। सन् २०१८ मा रियल मड्रिडबाट युभेन्टस आएका रोनाल्डोलाई एलेग्रीले नै पहिलो पटक क्लबमा स्वागत गरेका थिए। सन् २०१९ मा क्लब छाड्नु अघि एलेग्रीले लगातार ५ सिरी-ए उपाधि जितेका थिए।

गत सिजन रोनाल्डोको २९ गोलको बावजुद युभेन्टसले घरेलु लिगमा मात्र चौथो स्थान ओगट्न सफल भएको थियो। रोनाल्डो र एलेग्रीबीचको छलफल पश्चात् मात्रै आउँदो सिजन रोनाल्डोले कहाँबाट फुटबल खेल्ने भन्ने विषयमा टुङ्गो लाग्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?