गणतन्त्रात्मक नेपालमा गणतन्त्रकै बिदा खारेज

काठमाडौं, १९ चैत- संविधानको प्रारम्भमै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर उल्लेख भएकोमा वर्तमान सरकारले भने लोकतन्त्र र गणतन्त्र दिवसको बिदा खारेज गरेको छ । केही धार्मिक तथा जातीय पर्वको सार्वजनिक बिदा कटौती गर्ने क्रममा सरकारले संविधानको प्रस्तावना र प्रारम्भमा नै उल्लिखित लोकतन्त्र र गणतन्त्रका रूपमा परिभाषित महत्वपूर्ण इतिहासलाई पर्वझैँ गरी सार्वजनिक बिदाको सूचीबाट हटाएको हो ।नेपालको संविधान २०७२ को प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहने उल्लेख छ भने संविधानको प्रारम्भमा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर परिभाषित गरिएको छ । वर्तमान सरकारले भने धार्मिक तथा जातीय पर्वझैं लोकतन्त्र तथा गणतन्त्र दिवसलाई पनि एउटै तहमा राख्दै हटाएको छ ।नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समितिबाट ७ माघमा सुशासन र विकासको प्राथमिकताका सम्बन्धमा सरकारलाई सुझाव दिन गठित एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस र संविधान दिवसमध्ये गणतन्त्र दिवसमा सार्वजनिक बिदा दिने र अन्य ऐतिहासिक दिवसमा कार्यक्रम आयोजना गर्ने तर सार्वजनिक बिदा नदिने सुझाव दिएको थियो ।सरकारले भने गणतन्त्र दिवसमा बिदा दिने सुझावविपरीत संविधान दिवसमा सार्वजनिक बिदा दिने र अन्य दिवसमा बिदा नदिने निर्णय गरेको हो ।गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयमार्फत अन्य जातीय तथा धार्मिक दिवस जस्तै लोकतन्त्र र गणतन्त्रको बिदा हटाउने प्रस्ताव गएको थियो ।नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा गृहमन्त्री भएकै बेला यस्तो निर्णय हुन गएको हो । गणतन्त्र दिवसको बिदा कटौती गरेकोमा माओवादी केन्द्रका विभिन्न भातृ संघ संगठनले भने विरोध जनाउँदै आएका छन् । उनीहरूले संविधान र इतिहासको मर्ममा नै प्रहार गरेको बताउँदै आएका छन्, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?