यस्ता छन्, गृहका सुधार कार्ययोजना

काठमाडौं, १९ चैत- गृह मन्त्रालयले सातै प्रदेशमा सशस्त्र प्रहरीका विशिष्टिकृत तालिम केन्द्र स्थापना गर्ने भएको छ। गृहले पहिलो पटक प्रतिविद्रोह तथा प्रतिआतंकवाद, हुलदंगा व्यवस्थापन, सीमा सुरक्षा, राजस्व भन्सार तथा औद्योगिक सुरक्षालगायत महत्वपूर्ण विषयमा आधारित रहेर सशस्त्र प्रहरीका विशिष्टिकृत तालिम केन्द्र खोल्ने भएको हो, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।आर्थिक वर्ष २०७५/०७६ को प्रस्तावित नीति तथा कार्यक्रम एवं मन्त्रालय सुधार योजना कार्यक्रमअन्तर्गत मन्त्रालयले सशस्त्र प्रहरी बल सुदृढीकरण गरी देशको समग्र सुरक्षा स्थिति बलियो बनाउन सातै प्रदेशमा विशिष्टिकृत तालिम केन्द्र खोल्न लागेको हो। गृहमन्त्री रामबहादुर थापा बादलले कार्ययोजना सोमबार सार्वजनिक गर्ने गृह मन्त्रालयले जानकारी दिएको छ।गृहको सो सुधार योजना (रोडम्याप) अनुसार प्रदेश १ मा राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम केन्द्र, प्रदेश २ मा हुल तथा दंगा व्यवस्थापन तालिम केन्द्र, प्रदेश ३ मा विपद् व्यवस्थापन तालिम केन्द्र, प्रदेश ४ मा पर्वतीय तालिम केन्द्र, प्रदेश ५ मा सीमा सुरक्षा तालिम केन्द्र, प्रदेश ६ मा प्रतिविद्रोह तथा प्रतिआतंकवाद तालिम केन्द्र र प्रदेश ७ मा विशिष्ट व्यक्ति तथा महŒवपूर्ण प्रतिष्ठान सुरक्षा तालिम केन्द्र स्थापनाको तयारी गरिएको गृहले जानकारी दिएको छ।कार्ययोजनाअनुसार विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा गुल्म स्तरीय विपद् व्यवस्थापन इकाइसमेत स्थापना गरिनेछ। कार्ययोजनाअनुसार सीमा सुरक्षाका लागि नेपाल–भारत सिमानामा रहेका बोर्डर आउट पोस्टलाई थप विस्तार गरिनेछ। गृहले साइबर अपराध र मानव बेचबिखनको बदलिँदो स्वरूप दृष्टिगत गरी साइबर ब्युरो, मानव बेचबिखन ब्युरो स्थापना गर्ने र अपराध सूचनाको वृहत् अभिलेखालय निर्माण गर्ने तथा यसको कार्यान्वयन गर्ने सामुदायिक प्रहरी सेवा गुणस्तरीय बनाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?