अनशनरत पूर्वराष्ट्रपतिका छोरा यादवको स्वास्थ्यमा समस्या

काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न माग गर्दै अनशन बसेका कांग्रेस नेता डा. चन्द्रमोहन यादवको स्वास्थ्यमा समस्या देखिएको छ ।

विगत ६ दिनदेखि यादव कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशन बसिरहेका छन् । कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गरेको अवस्थामा धनुषाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै डा. यादवसहित धनुषाका नेताकार्यकर्ता अनशन बसेका हुुन् । अनशनरत यादवको स्वास्थ्यमा समस्या देखिएको धनुषाका कांग्रेस कार्यकर्ता उदय यादवले लोकपथलाई जानकारी दिए ।

डाक्टर यादवको रगत र पिसावमा खराबी देखिएको छ । क्रिलयाशील सदस्यताबारे जिल्ला छानबिन समितिले सर्वसम्मतरूपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने उनीहरूको माग छ । पूर्वसांसद समेत रहेका उनी पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा हुन् ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यताका सम्बन्धमा विवाद समाधान गर्न कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा समिति बनाएको छ । उक्त समितिले विवाद रहेका जिल्लाहरुको क्रियाशीलबारे छानबिन गरिरहेको छ । छानबिन समितिका सदस्य कांग्रेस नेता कल्याण गुरुङले क्रियाशील विवाद एक–दुई दिनमै समाधान हुने लोकपथलाई बताए।

यसैगरी सर्लाहीका कार्यकर्ता पनि सानेपामा अनशन बसिरहेका छन् । पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा सदस्यता विवाद बढी रहेको बताइएको छ । कांग्रेसको १४औं महाधिवेशन आउँदो भदौ १६ देखि १९ गतेसम्म हुँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?