अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिनेछु : अल्मुताइरी

काठमाडौं।  फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनौट खेल अन्तर्गत नेपालले शुक्रवार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘बी’कै सबैभन्दा बलियो टोली अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिइने कुरा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गरेका छन्। “सबै सोचेजस्तो भयो भने युवा खेलाडीलाई मौका दिनेछु”, अल्मुताइरीले बिहीवार सम्पन्न ‘प्रि-म्याच कन्फरेन्स’मा उल्लेख गरे।

“अस्ट्रेलियाविरुद्धको खेल अवश्य पनि निकै नै कठिन छ र युवा खेलाडीको अनुभवको लागि पनि यस्तो खेलमा खेल्न पाउनु उनीहरूको लागि महत्वपूर्ण कुरा हो”, अल्मुताइरीका शब्द थिए । उनले अहिलेसम्म नेपालले राम्रो खेल प्रस्तुत गरेको बताएका छन्। “हाम्रो स्टाइल अफ प्ले मा निकै नै सुधार आएको छ, आशा गरौं अस्ट्रेलियाविरुद्ध पनि राम्रो खेल खेल्नेछौं”, उनले थपे।

त्यस्तै अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्रेहेम आर्नोल्डले नेपाली फुटबल टोलीको प्रशंसा गर्दै भने, “नेपाल मेहनती टिम हो।” नेपालले फुटबल खेल्ने तरिकामा परिवर्तन आएको भन्दै उनले थपे, “नेपालविरुद्ध खेल्न हामी उत्साहित छौं।”

आर्नोल्डले नेपालविरुद्धको खेलमा नया खेलाडीलाई मौका दिने कुरा पनि उल्लेख गरे। “हामीसँग २९ जना खेलाडी छन् जसमा ४ जना गोलरक्षक छन्, जो खेले पनि प्रदर्शन भने राम्रो हुनु पर्यो”, आर्नोल्डले भने।

फिफा विश्वकप २०२२ को दौडबाट औपचारिक रूपमा बाहिरिसकेको नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रवार अस्ट्रेलियासँग कुवेतको ‘जबर अल-अहमद अन्तर्राष्ट्रिय रंगशाला’मा प्रतिस्पर्धा गर्नेछ। एसिया कप २०२३ को ढोका अझै खुल्ला रहेको नेपाली टोली निकै नै बलियो अस्ट्रेलियाको टोली सामु आफ्नो शानको लागि मैदान प्रवेश गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?