विर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा शुरु

लोकपथ
175
Shares
Drivers stand near auto rickshaw ambulances, prepared to transfer people suffering from the disease and their relatives for free, in New Delhi, India May 5, 2021. Picture taken May 5, 2021. REUTERS/Adnan Abidi

काठमाडौं । झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् ।

यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुर्‍याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए । नगरपालिका क्षेत्रमा बीएन्डसी, विर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजंघा र अञ्जलि हस्पिटल सञ्चालित छन् ।

घरघरै अक्सिजन पुर्‍याउँदै मेचीनगर

यसैबीच, मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुर्‍याउने व्यवस्था मिलाएको छ ।

वडा नं ११ धाइजनमा ३० शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।

“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन”, ओझाले भने, “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौं ।” नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पिपिइ, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?