एनएसएल : बुटवलले शीर्ष स्थान ओगट्ने मौका चुकायो

काठमाडौं।  नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज मंगलवार भएको एक मात्र खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गरेको छ।

दशरथ रंगशालामा खेलिएको सो खेलको निर्णायक गोल काठमाडौंका स्टेफन विनोङले गरे।

खेलको पहिलो हाफको शुरुको ५ मिनेट नै अप्रत्याशित रूपमा रोमाञ्चक हुन पुग्यो।

खेलको पाँचौं मिनेटमा नै विनोङको गोल मार्फत काठमाडौंले अग्रता लिएको थियो। बुटवलका कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठले काठमाडौंका सुदिल राईको लामो पासलाई जज गर्न नसक्दा बिनोङले सजिलो गोल गरे।

त्यसको एक मिनेट पनि नबित्दै बुटवललाई पेनाल्टी प्रदान गरियो। बुटवलका सुमन लामा काठमाडौंको डी-बक्स भित्र लडेपछि बुटवलले खेलमा बराबरी गर्ने सुवर्ण अवसर प्राप्त गर्यो।

तर काठमाडौंका कप्तान तथा गोलरक्षक विकेश कुथुले बुटवलका विलियम ओपोकुको ‘स्पट किक’ प्रहारलाई उत्कृष्ट बचाउ गर्दा काठमाडौंको अग्रता कायमै रह्यो।

त्यसपछिको ८५ मिनेटको खेलमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन र जित काठमाडौंको हातमा गयो।

खेलमा काठमाडौंका कप्तान कुथु ‘म्यान अफ दि म्याच’ घोषित भए। त्यस्तै काठमाडौंकै सुदिल राई ‘इमरजिङ प्लेयर’ चुनिए।

यस जितसँगै काठमाडौंले अंक तालिकामा ४ खेलमा ७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।

बुटवलले भने यस प्रतियोगितामा आफ्नो पहिलो हार चाखेको छ। काठमाडौंसँग पराजय भोगेपछि बुटवल अंक तालिकाको शीर्ष स्थानमा चढ्न असफल भएको छ। अझै ४ खेलमा ५ अंक जोड्दै बुटवल चौथौं स्थानमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?