दिपक मनाङेलाई मन्त्री पद : गुण्डाले पाएको राजनीतिक पुरस्कार !

काठमाडौं – कुनैबेला काठमाडौंको गुण्डागर्दीमा आतकिंत नाम हो – दिपक मनाङे । उनलाई राजीवको नामले सानो जमातले चिन्छन् ।

दिपक मनाङे नाम उनले बदनामीबाट कमाएका हुन् । हप्ता असुलीदेखि पैसा लिएर मान्छे पिट्ने धन्दामा उनी झण्डै दुई दशक मनाङे काठमाडौंमा निकै सक्रिय रहे । तर, जब उनले आफ्नो अपराध लुकाउन र प्रहरीको चङ्गुलबाट बच्ने भरपर्दो उपायका रुपमा राजनीतिको सहारा लिए,त्यसले काम गर्‍यो । परिणाम, वैशाख १६ गते मनाङेले गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मन्त्रीपरिषद् विस्तार गरेर मनाङेलाई मन्त्री बनाएका हुन्।

को हुन् मनाङे ?

आपाराधिक पृष्ठभूमिका मनाङे सांसद चुनिनु अघि डिल्लीबजारस्थित कारागारमा जेलमा थिए । अर्का गुण्डा नाइके चक्रे मिलनको ज्यान सम्बन्धी मुद्धामा पक्राउ परेका थिए। २०६० साल पुसमा काठमाडौंको हायात रिजेन्सी होटलमा मनाङे र चक्रे मिलनको गुण्डा टोलीबीच झगडा पर्दा मनाङे समूहले खुकुरी प्रहार गरेर हात छिनालेको थियो । त्यसपछि उनी जेल परेका थिए।

पटक – पटक जेल पर्न थालेपछि उनले राजनीतिक संरक्षण आवश्यक ठाने। कमल थापा नेतृत्वको राप्रपाबाट राजनीतिक आड लिन थालेका मनाङेले संघीय समाजवादी पार्टीमा शरण लिए। त्यसपछि २०७४ साल असोजमा एमाले प्रवेश गरेका थिए। मनाङको प्रदेश ‘ख’ बाट प्रदेशसभाबाट स्वतन्त्र उम्मेदवारको हैसियतमा विजयी भएका थिए।

एमालेले दिएको टिकट पनि चर्को आलोचनाका कारण फिर्ता लिएपछि उनी स्वतन्त्र हैसियतमा चुनावमा उठेका थिए । प्रदेशसभामा जिते लगत्तै उनलाई पक्राउ गरि जेल हालिएको थियो।

चुनाव जितेर माननिय भइसक्दा पनि आफ्नो गुण्डागर्दी स्वभावमा उनले सुधार गर्न सकेनन् । २०७६ माघ ९ गते उनले पोखरामा अखिल नेपाल फुटबल संघ एन्फा कास्कीकाअध्यक्ष मिलन गुरुङलाई हातपात गरेका थिए। तीनै मनाङेलाई बिहीवार गण्डकी प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्री नियुक्त गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?