कोरोना संक्रमणबाट जोगिन बुद्ध एयरले यस्ता सावधानी अपनाउने

काठमाडौं । बुद्ध एयरले कोरोना भाइरसको संक्रमण दर बढेसँगै आफ्ना उडानमा उच्च सतर्कता अपनाएको बताएको छ । बुद्ध एयरले आफ्ना हरेक उडानलाई संक्रमणरहित बनाउन सुरक्षा मापदण्डलाई कडाइका साथ लागु गरेको बताएको छ ।

बुद्ध एयरका अनुसार सुरक्षित उपायहरु मास्क, फेस सिल्डको प्रयोगलाई अनिवार्य बनाएको छ र विमानलाई स्यानिटाइज गर्नेदेखि यात्रीहरूको सामाजिक दुरीमा पनि विशेष ध्यान दिएको जनाएको छ ।

अति आवश्यक सेवा अन्तर्गत पर्ने आन्तरिक वायुसेवालाई बुद्ध एयरले महामारीकै बीचमा पनि उच्च सतर्कता अपनाएर सञ्चालन गर्दै आएको थियो । बुद्धले सुरुदेखि नै कोभिड विरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाई यसका सम्पूर्ण कर्मचारीहरुलाई सुरक्षा तालिम, जनजागरण तथा पीपीई प्रदान गरेको थियो, जुन अहिले पनि जारी नै छ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार संक्रमणरहित हवाई यात्राका लागि बुद्ध प्रतिवद्ध रहेको र यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्यान्ड सेनिटाइजरको प्रयोग अनिवार्य बनाइएको छ । जोशी भन्छन्, ‘हामीले हरेक उडानको यात्रु डाटावेश कम्प्युटराइज गरेका छौं, सरोकारवाला निकायले मागेको खण्डमा हामी तुरुन्तै दिन सक्छौं । यसले करोना रोकथाममा सहयोग गर्नेछ ।’

बुद्ध एयरका लगभग सबै कर्मचारीहरुले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको एयरलाइन्सले जनाएको छ। अब दोस्रो डोज वैशाख १० भित्र लिइसक्ने पनि बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले पछिल्लो समय कोरोनाभाइरस संक्रमण बढेपनि एयरलाइन्सले पूर्ण सुरक्षित यात्रा गराएको र यात्रुहरूको सुरक्षाका लागि एयरलाइन्स सदैव तत्पर रहेको जनाएको छ ।

हवाई उडान पुनः सुचारु भएपछि अर्थतन्त्र पनि चलायमान बन्दै गएको र पर्यटकीय स्थलमा चहलपहल बढेको छ । अहिले पुनः ठूलो जनशक्तिले रोजगार पाइरहेका छन् । तसर्थ बुद्ध एयरले उडान सहज सरल र संक्रमणरहित बनाउन यात्रुहरूको पनि उत्तिकै भूमिका रहने भएकाले सम्पूर्ण यात्रीहरूलाई सुरक्षा निर्देशिका पालना गर्न अनुरोध समेत गरेको छ ।

बुद्ध एयरका अनुुसार कोरोनाको लडाई लामो भएकाले यसका लागि दीर्घकालिन रणनीति बनाउनुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?