पर्सामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोहि गाउँपालिका-४ का १९ वर्षीय अभिषेक गोले रहेका छन् । गोलेको एल.एस. न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेहरु ठोरी-४ का २२ वर्षीय मधु गोले, १७ वर्षीय सञ्जय लामा र १३ वर्षीय आनन्द परियार र जीराभवानी गाउँपालिका-३ का ४५ वर्षीय राम सिंह चौधरी रहेका छन् । घाइतेहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

शनिवार राति राम सिंह चौधरीको ग ९ प ९५८७ नम्बरको मोटरसाकइलले वीरगञ्ज-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी ४ गोपीवस्तीमा पैदल हिँडिरहेका ४ जना युवाहरुलाई ठक्कर दिएको थियो । चालक चौधरी र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार  हुलाकी सडक खण्ड कालोपत्रे भएपछि ठोरीमा मोटरसाइकल दुर्घटनाका घटना बढ्दो छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?