सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार राइसिंह दाई

RSS
0
Shares

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुन् । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ ।

अत्यधिक चिसो हुने गरेका कारण यहाँका नागरिक छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यास उक्लिने गर्छन् । अहिले चिसो समय भएका कारण यहाँका नागरिक गत मङ्सिर महिनामा आफ्ना पशुचौपाया र लालाबालासहित सदरमुकाम खलङ्गा झरेका छन् तर ऐतवाल चिसोको समयमा पनि गाउँको चौकीदारी गर्दै बसे ।

व्यासको छाङ्ग्रुमा यसपटक चिसो माइनस १६ डिग्रीसम्म झर्यो तर चौकीदार ऐतवालले यो चिसोलाई सहजै छले । छाङ्ग्रुमा १ सय २० घरधुरीको बसोबास छ । गाउँका सबै सदरमुकाम झरेपछि उनलई वडा नं १ को कार्यालयले चौकीदार राखेको हो ।

गाउँको निगरानी गर्ने, चोरी भए खबर गर्ने उनको जिम्मेवारी हो । ऐतलालले भने चोर, तस्करसँग लड्न त कहाँ सकिन्छ तर निगरानी गर्छु । विगतमा भारतसँग खुला सीमा तथा तस्करी चल्ने समय हुँदा चौकीदार बस्नुपथ्र्यो । त्यो बेला गाउँमा आएर आगलागी गरिदिने, धन सम्पत्ति चोरीदिने खतरा हुन्थ्यो”, उनले भने, “तर अहिले त्यो अवस्था छैन ।

दुई वर्षदेखि चौकीदार बस्दै आउनुभएका ऐतवाललाई यसपटक सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म र नेपाल प्रहरीसमेत छाङ्ग्रुमै बसेपछि सहज भयो । विगतमा गाउँभरि एक्लै हुन्थे तर यस वर्ष पहिलोपटक सरकारले दुईवटा सुरक्षा निकायलाई बाह्रैमास छाङ्ग्रुमै राखेपछि चौकीदारीमा सजिलो भयो । यस वर्ष विगतको भन्दा हिउँ पनि कम पर्यो । गाउँको वरिपरि दैनिक दुई÷चारपटक फन्को लगाउँछु”, ऐतवालले दिनचर्या सुनाए । उनका अनुसार पूरै गाउँ घुम्न १० मिनेट लाग्छ । विहान, दिउँसो र रातिको समयमा सबैको घरघर पुगेर अवस्था हेर्नुपर्छ ।

दिउँसो घाम लाग्छ । यसपटक उनले आफ्ना पशुचौपाया पनि सँगै राख्नुभएको छ । पशुचौपायालाई जंगल पठाउनेदेखि खेतबारीमा काम गरेर उनको समय बित्छ । एक्लै बस्न डर लाग्दैन भन्ने प्रश्नमा ऐतवालले भने, “यस्तो कैलाश भूमिमा के को डर ? ऐतवाललाई वडा कार्यालयले मासिक १० हजार दिने गरी चौकीदार राखेको हो । गाउँको सुरक्षा पनि हुने, रोजगारी पनि सिर्जना हुने भएपछि पाँच÷छ महिनाका लागि चौकीदार राखिएको वडाध्यक्ष अशोकसिंह बोहरा बताए । हामीले पहिले पनि स्थानीय तह नहुँदा चौकीदार राख्थ्यौं उनले भने । व्यासका स्थानीयवासी वैशाख दोस्रो सातादेखि व्यासको छाङ्ग्रु र तिङ्कर उक्लिने तयारीमा छन् ।

तिङ्कर मानवशून्य बस्ती

चीनको सीमा नजिकैको दार्चुलाको उत्तरी क्षेत्रको एउटा गाउँ यतिबेला मानवशून्य बस्ती छ । व्यास–१ तिङ्कर बस्ती अहिले मानवविहीन बनेको हो । गत मंसिर महिनामा यहाँका ६५ घरधुरी चिसो छल्न सदरमुकाम खलङ्गा औल झरेपछि यो बस्ती मानवशून्य बनेको हो । आफ्नै भूमि जान घोरेटो बाटो छैन । भारतीय भूमि भएर जान पनि त्यति सहज छैन । कोभिडको जोखिमका बेला यहाँका नागरिक भारतसँग समन्वय गरेर सीतापुल नाका भएर सदरमुकाम झरेका थिए ।

अहिले तिङ्करमा कोही छैनन् । सदरमुकाम खलङ्गाबाट नेपालकै भूमि भएर तिङ्कर पुग्नै पाँच दिन लाग्छ । छाङ्ग्रुबाट तिङ्कर जान आधा दिन लाग्छ । तिङ्करमा छ महिना सुरक्षाकर्मीको उपस्थिति हुने गर्दछ । तिङ्करस्थित सीमा प्रहरी चौकी अहिले व्यासको छाङ्ग्रु झरेको छ । तिङ्करबाट नेपाल–चीन सीमा क्षेत्र पुग्न पाँचदेखि छ घण्टा लाग्छ । पिलर नं १ बाट सोझै झर्यो भने चीनको स्वशासित क्षेत्र तिब्बत पुगिन्छ ।

तिङ्करमा बस्ने नेपाल प्रहरी छ महिना छायालेकमा बस्ने गर्छ । अहिले मानवशून्य रहेको तिङ्कर गाउँसम्म कहिलेकाही सशस्त्र प्रहरीले ‘एलआरपी’ गस्ती गर्ने गरेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्ग्रुले जनाएको छ । सधैँ यस ठाउँसम्म पनि पुग्न सकिने अवस्था थिएन”, प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले भने., “हिउँ भएका कारण कहिलेकाही वस्तुस्थिति बुझ्न जाने गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?