कैलालीमा मास्क अनिवार्य, नलगाए कारवाही

टेकसिँह धामी/ धनगढी- कैलालीमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अन्तर्गत मास्कको प्रयोग अनिवार्य गरिएको हो ।

हिजो (मंगलवार) प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्ने गराउने निर्णय गरेको हो । मापदण्ड पालना नगर्नेलाई कारवाही हुने बताइएको छ ।

बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्ने, मास्क लगाउने, भारतबाट फर्किनेहरुलाई अनिवार्य रुपमा आइसोलेसन र क्वारेन्टिनमा व्यवस्थापन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोगमा कडाइ गर्ने बताउदै जोशीले नियमको उल्लंघन गर्नेलाई कारवाही गरिने बताए ।

नाकामा चेकजाँच गर्ने

नयाँ वर्ष आइरहँदा सीमा नाका भएर आउने नेपाली नागरिकहरू स्वदेश फर्किरहेका छन् । स्वदेश फर्किने नागरिकहरुलाई कसरी चेकजाँच गर्ने पोजेटिभ देखिएकाहरू लाई कसरी व्यवस्थापन गने बारे बैठकले निष्कर्ष निकालेको जोशील बताए ।

उनले भने, ‘जिल्लाका सबै पालिकाहरू लाई विगतका आइशोलेशन र क्वारेनटाइन लाई चालु अवस्थामा राख्न आग्रह गरिएको छ । सार्वजनिक सवारी साधनमा समेत स्यानिटाइजर र मास्कको व्यवस्था निर्देशन जारी गरेका छौँ । घरबाहिर निस्कँदा मास्क नलगाउने नागरिकहरूलाई कारबाही गरिने छ ।’

बैठकमा स्थानीय तह,सुरक्षा निकायका प्रमुख र यातायात व्यवस्था कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?