बागलुङ । ढोरपाटन नगरपालिका–२, ५, ७ र निसीखोला गाउँपालिका–२ का स्थानीयवासीले ढुक्कले खानेपानी नपाएको वर्षौं बित्यो । दुई घण्टाको बाटोमा रहेका कुवा र पँधेरोबाट पानी बोक्दा परिवारका लागि पानी पुर्याउन कठिन भएको अनुभव छ, ढोरपाटन–२ की गीता कुँवरको ।
मुहान नै नपाएका कारण यी वडाका बस्तीमा पानी पुर्याउन सकिएको थिएन । यहाँ पानी पुर्याउनका लागि कैयौँ पटक प्रयास भए । लिफ्टिङ प्रविधिदेखि आकासेपानी जम्मा गरेर जोहो गर्ने विधि अपनाउँदासमेत वर्षाको समयमा पुगे पनि हिउँदमा पानीको समस्या उस्तै हुने गरेको उनी बताउछिन् । “विभिन्न नामका संस्था आएर पानी ल्याउने भने । हिउँदमा गाग्री बोक्न टुटेको छैन”, उनी भन्छिन्, “अब त केही होला भन्ने आशा पलाउन थालेको छ ।”
यहाँ पानी पुर्याउन विगतदेखि नै प्रयास नभएका भने होइनन् तर ती प्रयास बालुवामा पानी बगेजस्तै बगेर गए । विगतबाटै खुत्रुङ खोलाबाट पानी ल्याउने भनेर चर्चा थियो, स्थानीयवासी शेरमान घर्ती पुरानो कुरा सम्झनुहुन्छ, दूरी निकै टाढा, बजेट नभएकाले कहिलै काम भएनन् ।
खानेपानीका समस्या कहाँ छैन होला र ? कतै मुहानको समस्या त कतै बजेटको अभाव । सर्वसाधारणले खानेपानी नपाएका घटना धेरै छन् । अहिले स्थानीय सरकारको सक्रियताले काकाकुल गाउँमा पानीको समस्या हट्दै छ । पञ्चायतकालीन शासकले कल्पना गरेको तर सक्रियताको अभावमा सञ्चालन गर्न नसकेको आयोजना स्थानीय सरकारले शुरु गरेपछि अहिले भने यहाँका स्थानीयवासीमा खानेपानी पाउने आशा पलाएको छ ।
पानीको समस्या रहेका झण्डै ४५० घरधुरीका लागि पानी पुर्याउन अहिले धमाधम काम भइरहेको छ । ढोरपाटन नगरपालिकाले गत आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि अहिले यी गाउँहरुमा २५ किलोमिटर टाढाबाट पानी ल्याइएको छ ।
योजना पूरा भएपछि ढोरपाटन नगरपालिका–९ को खुत्रुङ खोलाबाट ५० मिलिलिटरका दुईवटा पाइपबाट पानी आउनेछ । एउटा पाइपबाट ढोरपाटन नगरपालिका–२ बयचौरमा रहेको एक लाख ५० हजार लिटरको ट्याङ्की र अर्को पाइपबाट ढोरपाटन–७ घम्पुमा बनेको एक लाख लिटरको ट्याङ्कीमा पानी खसेको नगरप्रमुख देवकुमार नेपाली बताउछन् । “हामी तीव्र इच्छाशक्ति राखेर काम गरिरहेका छौँ । यो आर्थिक वर्षभित्रै सबैका घरमा पानी पुग्छ”, नगरप्रमुख नेपालीले भने ।
निरन्तर बग्ने खुत्रुङ खोलाको मुहानबाट आएकाले यो पानीले अबको ५० वर्ष खानेपानीको समस्या टार्ने ढोरपाटन–२ का वडाअध्यक्ष युवराज महतले बताए । घैँटाको पानीले हिउँदमा नपुग्दा झण्डै २ घण्टाको बाटो हिँडेर पानी ल्याउने स्थानीयवासी गीता कुँवर धारा पाउने खबरले उत्साहित भएको बताउछिन् । पानीको चरम समस्या रहेका गाउँहरुमा सामुदायिक धारा बनाउने योजनामा वडा कार्यालयको छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा ९० लाख पाइप तथा ट्याङ्कीका लागि, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाइपलाइन बनाउने र पुर्ने काममा २७ लाख खर्च गरेको थियो । चालु वर्षमा दुवैतर्फ २५-२५ लाख बजेट विनियोजन भएको छ । आयोजना सकिँदासम्म कति खर्च लाग्छ भन्ने आङ्कलन भने गरिएको छैन । अहिलेसम्म करीब दुई करोड खर्च भइसकेको उनले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया