काठमाडौँ– आज (शुक्रवार) सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहबीच तीन बुंदे सहमतिमा हस्ताक्षर भयो। राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबीच दुई पक्षबीच हस्ताक्षर भएको हो ।
सहमति पत्रमा सरकारी पक्षका तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव पक्षका तर्फबाट उक्त समूहका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरे।
तीनबुँदे सहमतीपत्रमा दुवै पक्ष (सरकार र नेपाल कम्युनिष्ट पार्टी)ले देशको राजनीतिक समस्याहरु वार्ताको माध्यमबाट समाधान गर्ने, नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले आफ्ना सबै पूराना राजनीतिक क्रियाकलापहरु बन्द गर्ने र नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध र जेलमा रहेका सबै नेता कार्यकर्तालाई रिहाइ गरिने उल्लेख छ ।
हस्ताक्षर कार्यक्रममार्फत दुई वर्षदेखि भूमिगत रहेका नेत्र विक्रम चन्द विप्लव सार्वजनिक भएका छन् । हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विगतमा पनि संवाद हुने गरेकोदेखि मृत्युवरण गर्न तयार रहेकोसम्मका अभिव्यक्ति दिए ।
उनले कम्युनिष्टहरू विद्रोहका मात्रै नभएर शान्तिका दूत पनि भएको उल्लेख गरे । सरकारसँग भएका तीन बुँदे सम्झौता पालना गर्न कुनै कन्जुस्याई नहुने उल्लेख गर्दै विप्लवले यसमा कसैले आशंका, उत्तेजना र कुतर्क गर्न जरुरी नभएको बताए । आफूले कसैको भाग खोसेर र हमला गरेर नभई जनताको चाहना अनुरुप राजनीति गर्ने उनको भनाइ छ ।
जुन र घामको भेट भएको बताउँदै उनले समाज रुपान्तर हुँदै गएपनि त्यसले पूर्णता नपाएको बताए । महिला, दलितलगायत उत्पीडित समुदाय अझै सन्तुष्ट नभएको उल्लेख गर्दै उनले नेपाली ईतिहासमा नयाँ प्रयोगको खाँचो भएको बताए ।
सहिदको सपना र जनताको चाहना पूरा गर्न आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको बताउँदै विप्लवले जनमत संग्रहमा जानुपर्ने धारणा राखेका छन्।
सम्बोधनका क्रममा उनले देशमा विदेशी हस्तक्षेप भयो भने कुनै सम्झौता नगर्ने बताए। उनले भने, ‘हाम्रो जीवन धर्तीमा गाडिन्छ तर सम्झौता गर्दैनौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया