काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोसी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन् ।
बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) पुगेर विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिँदै मन्त्री श्रेष्ठले केही कर्मचारी सम्पर्कविहीन भए पनि प्राधिकरणका कर्मचारीले निरन्तर काम गरिरहेको बताए ।
बाढीका कारण कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिए पनि विद्युत् आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न सफल भएको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले बाढी प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भइसकेको र रसुवामा पनि सेवा पुनःस्थापनाको काम भइरहेको जानकारी दिए ।
उनले आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको बताए ।
प्राधिकरणका अनुसार बुधबार साँझ विद्युत्को उच्चतम माग २ हजार ९३९ मेगावाट रहेकामा बिहीबार २ हजार ८९१ मेगावाट थियो । काठमाडौं उपत्यकाको माग बुधबार ५९० मेगावाट रहेकामा बिहीबार घटेर ५७८ मेगावाट पुगेको थियो ।
त्यस्तै, बुधबार ६२ मेगावाट विद्युत् आयात गरिएकोमा बिहीबार २ मेगावाट मात्रै आयात गरिएको प्राधिकरणले जनाएको छ ।
नुवाकोटमा वैकल्पिक स्रोतबाट करिब ७ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । चपलीबाट २ मेगावाट, इन्द्रावतीबाट १ मेगावाट, तादी जलविद्युत् केन्द्रबाट २ मेगावाट र बालाजु–त्रिशूली प्रणालीबाट थप २ मेगावाट विद्युत् पठाइएको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया