भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनैपनि हालतमा राजिनामा नदिने दोहो-याए ।
उनले भने–”राजिनामा दिने हामी कायर हो, कुनैपनि हालतमा राजिनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ ।” संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए । भने–”अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौै तर यो निर्णयले झन् विवाद बढाएको छ–सिटिइभीटीको ३३ औँ वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने–हामी जनताबाट आएका हौ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् ।”
“संसद पुनस्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाडेको उल्लेख गर्दै सपना बाड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे । अबको प्रधानमन्त्री पनि केपी ओलीनै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ”, उनले भने ।
हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौ, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउँदा गलत भएको छ । अदालतको फैसलापछिको विष्लेषण गर्दै उनले भने, “अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ । अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौ, खेल खेल्ने तयारीमा छौ, हामीले गोल गरेरै देखाउछौ ।” उनले भने- “हामीसंग नेपालको राजनीतिमा पेले छन् ,रोनाल्डो छ , म्यारोडोना र मेसी हामीसंगै छ त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आएपनि राजनीति मैदान छाड्नेवाला छैनौ, हाम्रै जित सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गर्नेछौँ ।”
“नैतिकताको आधारमा मन्त्रीले राजिनामा दिनुपर्छ भन्दै फेसबुकमा स्टाटस लेख्ने र सडकमा कुर्लिनेहरुलाई सरकारको तर्फबाट मेरो यो जवाफ छ कि सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउ ।” मन्त्री श्रेष्ठले भने ।
सुन हो कि पित्तल, हिरा हो कि सिसा भनि नक्कली र सक्कली भनी छुट्टयाउन सक्ने क्षमता जनतामा भएको बताउदै अहिले आन्दोलन गरेर हिड्ने गुट नक्कली भएको टिप्पणी गरेका छन् । भने– “काग भएर मयुरको प्वाख राखेर कराउदै हिडेका छन् । जनताले असली मयुर चिनेर प्वाख हाल्ले मयुररुपी काग बन्नेलाई धिक्कार गर्नेछन् ।”
उनले मुलुक राजनीतिक संकटतर्फ धकेलिएको संकेत गर्दै यस्लाई रोक्ने काम ओली सरकारको भएको चर्चा गरे । भने– “यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नुहुन्छ ।”
त्यस्तै संसद पुनःस्थापना भएपछि सरकारको तर्फबाट पहिलो धारणा राखेका मन्त्री श्रेष्ठले अबपनि केपी ओलीको विकल्प नभएको स्पष्ट पारे ।
कार्यक्रममा सिटिइभीटीले गरेका कामको प्रशंसा गर्दै योजनाबद्ध ढंगले अधि बढ्न निर्देशन दिए । सो संस्थाको अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकातामा राखेर अघि बढ्ने बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य(शिक्षा) डा. उषा झा, सिटिइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, शिक्षा सचिव रामप्रसाद थपलिया, सदस्य सचिव पुष्प रमण वाग्ले लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा मन्त्री श्रेष्ठ, सचिव थपलिया लगायतले टिभिइभीटी परिसरमा वृक्षरोपाण गरेका थिए । मन्त्री श्रेष्ठले वार्षिकउत्सवको केक काटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया