ओलीलाई दिएको जनादेश निरंकुशताको लाइसेन्स होइनः नेता श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र प्रसाद श्रेष्ठले राजनीतिक स्थिरताको नारा दिई सत्तारुढ भएका प्रधानमन्त्री ओलीले उल्टो काम गरेको टिप्पणी गर्दै संविधानले संसद भङ्ग गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नदिएको बताएका छन् । आइतवार प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै जसपाले काठमाडौंमा गरेको विरोध सभामा नेता श्रेष्ठले गत निर्वाचनमा जनताले ओलीलाई दिएको जनादेश निरङ्कूशताको लाइसेन्स नभएको स्पष्ट पारेका हुन् ।

कारोनाको कहरले १२ लाख श्रमजीवीले रोजगारी गुमाएको बेला ३० अरब खर्च गर्ने गरी निर्वाचन घोषणा गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताउँदै उनले भने, अहिले संविधानको लिक भत्किएको छ । संसद पुन:स्थापना नभए संवैधानिक सङ्कट पैदा हुनेछ ।’

उनले थप स्पष्ट पादै भने, ‘संविधानअनुसार संसद विघटनको ६ महिनाभित्र निर्वाचन गर्नु पर्छ र निर्वाचन कानुनअनुसार त्यसका लागि १२० दिन चाहिन्छ । २०७८ वैशाखमा निर्वाचन गर्ने घोषणा गरे पनि अब त्यसका लागि १२० दिनको समय छैन भने असार ४ गते ६ महिना पुग्छ ।’ त्यस्तो अवस्थामा चुनाव सम्भव नभएकाले संवैधानिक रिक्तता पैदा हुने भन्दै उनले प्रतिनिधिसभा पुनस्र्थापनाको विकल्प नभएको बताए ।

जसपा नेता श्रेष्ठले नेपाली काङ्ग्रेसलाई इतिहासबाट शिक्षा लिएर संयुक्त जनआन्दोलनका लागि तयार हुन आह्वान गरे । निर्वाचन भए आफ्नो लागि सिंहदरवारको कुर्सी खाली हुन्छ भनेर सोच्नु गलत भएको बताउँदै उनले भने, ‘नेपाली काङ्ग्रेसका नेता शेरवहादुर देउवा आफैले संसद विघटन गरी घोषणा गरेका निर्वाचन गराउन नसक्दा राजाले सत्ता हातमा लिएको र जनआन्दोलनको माध्यमबाट संसद पुन:स्थापना भएको इतिहासबाट शिक्षा लिनु पर्छ ।’ प्रतिगमनको जगमा हुने निर्वाचनले लोकतन्त्र बलियो हुँदैन भन्दै उनले ‘कोदो बारीमा फापर’ नफल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?