पोखरा–सिमराबीच सिधा हवाई सम्पर्क हुने

RSS
0
Shares

कास्की । पर्यटकीय नगरी पोखरा र जीतपुर सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुनेभएको छ । यति एयरलाइन्सले आगामी चैत १५ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने भएको हो ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायको संयुक्त बैठकले आन्तिरक एवं भारतीय पर्यटक प्रवर्द्धन गर्ने लक्ष्यका साथ हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

फागु पूर्णिमादेखि सञ्चालन गरिने हवाई सेवाअन्तर्गत प्रत्येक हप्ताको आइवार, बुधवार र शुक्रवार उडान गरिने र शुरुमा प्रति यात्रु चार हजार ५०० को टिकट लाग्ने एयरलाइन्सले जनाएकोछ । सो रुटको उडान कूल ३० मिनेटको हुनेछ ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटनको राजधानी पोखरालाई मुलुकका सातवटै प्रदेशसँग सिधा हवाई सेवासँग जोड्ने अभियानअन्तर्गत पोखरा–सिमरा उडान शुरु गर्न लागेको बताए ।

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्येनजर गर्दै औद्योगिक शहर विराटनगरसँग यसअघि नै उडान शुरु गरिएको बताउँदै उनले जनकपुरधाम, नेपालगञ्ज र धनगढीजस्ता मुख्य शहरमा हवाई सेवा शुरु गर्ने तयारी भइरहेको जानकारी दिए । कोभिड–१९ को कारण थला परेको पर्यटन व्यवसायको प्रवर्द्धनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन हवाई सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री लम्सालले यसका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले हवाई सेवा सञ्चालन गर्नु महत्वपूर्ण भएको उल्लेख गर्दै यसको दिगोपनका लागि स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले हवाई सेवा सञ्चालनले तराई र पहाडबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै धार्मिक पर्यटनमा टेवा पुग्ने धारणा राखे ।

पोखरा विमानस्थलका कार्यालय प्रमुख विक्रमराज गौतमले हवाई सेवामार्फत आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनका लागि तीन तहका सरकार र निजी क्षेत्र बीचको समन्वय र सहकार्य आवश्यक हुने बताए । जीतपुर सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयकुमार शाह, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, यति एयरलाइन्सका वरिष्ठ निर्देशक सरल शम्शेर जबरा, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइराला लगायतले पोखरा सिमरा बीचको हवाई सम्पर्कले धार्मिक पर्यटनका साथै पहाड र तराई बीचको भावनात्मक एकतालाई अझै प्रगाढ बनाउनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?