काठमाडैं । नेपालको पहिलो श्रव्यदृष्य प्रसारक संस्थाका रुपमा स्थापित ‘नेपाल टेलिभिजन’ अन्तर्राष्ट्रिय जगतमा प्रवेश गर्दै छ ।
विसं २०४१ माघ १७ गते स्थापित एनटिभीले भूउपग्रह र इन्टरनेटका माध्यमबाट नेपालको पहिचान, सम्भावना र उपस्थितिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान अङ्ग्रेजी भाषाको एउटा सशक्त प्रसारण माध्यमका रुपमा ‘एनटिभी वर्ल्ड’ आरम्भ गर्ने योजना अघि सारेको अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए ।
अध्यक्ष विष्टले भने,“वर्तमान अवस्थामा नेपाल विश्वको मानचित्रमा अलग्गै मुलुकका रुपमा जस्तो छैन, विश्वमा देखिने र सुनिने मुलुकका रुपमा स्थापित हँुदै गएको छ, यस्तो अवस्थामा नेपालको हरेक क्षेत्रलाई प्रबर्द्धन गर्ने र नेपालका बारेमा विश्वलाई जानकारी दिने महत्वपूर्ण माध्यमका रुपमा स्थापित गर्ने गरी अङ्ग्रेजी भाषाको अन्तर्राष्ट्रिय च्यानल एनटिभी वर्ल्ड स्थापना गर्ने योजनामा छौँ ।” एनटिभीले प्रादेशिक उत्पादन स्टुडियोसहित ब्युरो स्थापना गर्ने पनि भावी योजना बनाएको छ । साढे तीन दशक लामो यात्रा पूरा गरेको एनटिभीले च्यानलको सङ्ख्या, प्रविधि र प्रसारण क्षमतामा परिवर्तनसँगै विकास गरेको छ ।
‘विकासका लागि सञ्चार’ भन्ने मूल नारासहित स्थापित एनटिभीले मुलुकको राष्ट्रिय प्रसारकको दायित्व पूरा गर्ने क्रममा घटना र विषयलाई उजागर गर्दै नेपालको जातीय, भाषिक, सांस्कृतिक र प्राकृतिक विविधताको प्रबर्द्धन एवं राष्ट्रहितको सम्बर्द्धनमा समेत महत्वपूर्ण योगदान गर्दै आएको छ । करीब १७ वर्षसम्म एक्लैले देशमा टेलिभिजन प्रसारण संस्थाको दायित्व निर्वाह गरेको एनटिभीले अहिले ‘नेपाल टेलिभिजन–राष्ट्रिय प्रसारण’, ‘एनटिभी प्लस’, ‘एनटिभी न्यूज’, ‘एनटिभी कोहलपुर’ र ‘एनटिभी इटहरी’मार्फत सेवा विस्तार गरिरहेको छ ।
एनटिभीकोे वर्तमान व्यवस्थापनले संस्थाको योजनाबद्ध विकास र विस्तारका लागि हरेक वर्ष निर्दिष्ट क्षेत्रमा केन्द्रित हुने नीति लिई रुपान्तरण र विकासका प्रक्रिया अघि बढाएको अध्यक्ष डा. विष्टले जानकारी दिए । उनले भने,“राष्ट्र, राष्ट्रियता, नेपाली मौलिकता, इतिहासमा महत्व राख्ने धेरै ‘डकुमेन्ट्री’लाई प्रसारण गर्दै आएका छौँ, पछिल्लो समयमा विषयवस्तुमा सुधार गरेका छौँ र व्यापकता दिएका छौँ, विगतमा देखिएका, नसुनिएका क्षेत्र, वर्ग समुदाय, भाषालाई पनि प्राथमिकता दिँदै आएका छौँ ।”
टेलिभिजनको क्षेत्र विस्तार, मोबाइल एप, फेसबुक, ट्विटर तथा युट्युब जस्ता सामाजिक सञ्जालको प्रयोगका साथै ‘इन्टिग्रेटेड मिडिया टे«न्ड’ लाई आत्मसात् गर्दै अनलाइन संस्करण ‘नेपाल टिभी अनलाइन डटकम’को पनि शुरुवात भएको छ । त्यसका अतिरिक्त साङ्केतिक र संस्कृत भाषामा समाचार, ६ राष्ट्रिय भाषा(थारू, लिम्बू, नेपालभाषा, भोजपुरी, मैथिली र अवधी)मा कार्यक्रम निर्माण तथा प्रसारण गर्नाका साथै समावेशिता प्रवर्द्धन गर्ने एवं ‘रियालिटी शो’सहितका मेगा कार्यक्रमको उत्पादनसमेत बढाइएको छ । यसरी एनटिभीले नेपाली, अङ्ग्रेजी, संस्कृतलगायत गरी नौ भाषामा समाचार र कार्यक्रम प्रसारण गर्दै आएको छ ।
सन् २०१९ डिसेम्बरदेखि चीनको वहानबाट शुरु भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेका बेला उच्च जोखिमका बीच तत्काल आधिकारिक सूचना, शिक्षा, जनचेतनाका साथै राज्यबाट भएका पहललाई नेपाली नागरिकसमक्ष पुर्याउन अथक प्रयास गरिएको अध्यक्ष डा. विष्टको भनाइ छ । सरकारले सार्वजनिक सेवा प्रसारणको स्थापना एवं नेपाल टेलिभिजन तथा रेडियो नेपाललाई एकीकृत र रुपान्तरण गर्ने नीति लिई ऐन निर्माणको प्रक्रियासमेत शुरु गरिसकेका सन्दर्भमा संस्थानले आर्थिक वर्ष २०७७/७८ को मूल नारा ‘राष्ट्रको पहिचान, सार्वजनिक प्रसारण’ तय गरी सार्वजनिक सेवा प्रसारणमा रुपान्तरणको आन्तरिक तयारी गरिरहेको छ ।
देशको कुल भूभागको करीब ५२ प्रतिशतमा भूसतही प्रसारण सेवा उपलब्ध गराउँदै आएको टेलिभिजनको देशको कूल जनसङ्ख्याको ७२ प्रतिशत जनसङ्ख्यामा भूसतही प्रसारण सेवा उपलब्ध छ । भूउपग्रहमार्फत विश्वका सवा सयभन्दा बढी देशमा यसको पहुँच छ । एनटिभीका डडेल्धुरा, रुकुम र पर्वतमा भूसतही प्रसारण केन्द्र स्थापना गर्ने तयारी गरिएको छ ।
प्रेस काउन्सिल नेपालले २०७७ सालमा गरेको एक अध्ययनले नेपालका टेलिभिजनमध्ये विश्वसनीयताको दृष्टिकोणले एनटिभी अग्रणी रहेको जनाएको छ । सर्वेक्षणमा सहभागी कुल ४५.५ प्रतिशतले एनटिभी सर्वाधिक विश्वसनीय रहेको राय दिएका थिए । सियरकाष्ट–२०१९ ले सार्वजनिक गरेको सर्वेक्षण नतिजानुसार एनटिभी नेपालको सबैभन्दा लोकप्रिय र सबैभन्दा धेरै हेरिने टेलिभिजन प्रसारण संस्था भएको देखाएको छ ।
साठी प्रतिशत जनसङ्ख्याले टिभी हेर्ने गरेको र त्यसमध्ये सबैभन्दा बढी २९ प्रतिशतले एनटिभी हेर्ने तथ्याङ्कले देखाएको छ । पछिल्लो समय नेपाल टेलिभिजनले समृद्धि, सुशासन, विकासलगायत आर्थिक विकास, समाज रुपान्तरण, कानूनी शासन र नागरिक सरोकारका कार्यक्रमका साथै ‘समृद्ध नेपाल’, ‘डिजिटल नेपाल’, ‘सुशासन सवाल’, ‘स्वास्थ्य बहस’लगायत विभिन्न राष्ट्रिय प्राथकिताका कार्यक्रम प्रसारण गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया