इलाम । चालु आर्थिक वर्ष २०७७-७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपजका निकासीमा सुधार देखिएको छ । निकासी तथा प्रवर्द्धान बोर्डका अनुसार गत आर्थिक वर्ष २०७६-७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो ।
नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ । चालुआवको यस अबधिमा अलैँचीको निकासी तथा आम्दानीमा उल्लेखीय सुधार देखिएको हो ।
गत वर्षको तुलनामा चालु वर्षमा पनि अलैँचीका भाउमा सुधार आएकाले पनि आम्दानी बढेको हो । गत वर्षमा दुई अर्ब ५१ करोड ८२ लाख १० हजार बराबरको निकासी भएको थियोे भने यस वर्ष तीन अर्ब ८१ करोड ७६ लाख ४१ हजार बराबरको निकासी भएको तथ्याङ्कले जनाएको छ । गत आ.वको साउनदेखि पुससम्ममा ३१ लाख ३२ हजार ८३७ किलो अलैँची निकासी भएकामा यस आ.वमा ४७ लाख ७५ हजार ९८३ केजी निर्यात भएको छ ।
गत वर्ष २५ हजार हाराहारीमा प्रतिमन ९एक मनमा ४० केजी० हुँदा यस वर्ष ३१ हजार हाराहारी मूल्यसम्ममा किसानले अलैँची बेचेका थिए । व्यवसायीका अनुसार यस वर्ष कोरोनाका कारण किसानले चाँडै अलैँची बेचेकाले पनि मूल्य बढेको हो । कोरोनाले कारण किसानले बन्दाबन्दीमा आर्थिक सङ्कट व्योहोरेकाले गत पुस सम्ममा नै व्यापारीकहाँ अलैँची पुर्याएका हुन् ।
व्यवसायी मातृका घिमिरेका अनुसार अलैँचीको वास्तविक भाउ किसानले बुझेकाले पनि निकासी चाँडै गरेका हुन् । कुनै बेला प्रतिमन एक लाख पुगेको अलैँचीको मूल्य अझै पनि किसानमा त्यो धङ्धङी रहिआएको छ । केही किसानले अब त्यो किसिमको भाउ नआउने बुझेकाले पनि कम समय भण्डारण गरेर अलैँची बजार पुर्याएको उनको भनाइ छ । यस वर्ष साउन–पुसको समयमा अलैँचीको निकासीमा सुधार भएर नेपालबाट निर्यात हुने तेस्रो प्रमुख वस्तुमा परेको छ ।
समग्र निकासी बजारको छ दशमलव २८ प्रतिशत हिस्सा अलैँचीले ओगटेको तथ्याङ्कले देखाउँछ । यसपटक कृषिजन्य अर्को वस्तु चियालाई उछिन्दै अलैँचीमाथि उक्लिएको हो । यस अवधिमा चियामा पनि सुधार देखिएको छ । चियाको अन्तिम सिजनको चिया निकासी अवधि भएकाले पनि निर्यातमा अपेक्षाकृत सुधार देखिएको हो ।
यस आवको साउनदेखि पुससम्ममा गएको वर्षको यसै समयको तुलनामा ५१ दशमलव छ प्रतिशतले आम्दानीमा सुधार भएको छ । कफी तथा चिया विकास बोर्डको तथ्याङ्कअनुसार गत वर्ष अलैँचीबाट एक अर्ब ६५ करोड, ६९ लाख, ६८ हजार बराबरको आय भएको छ भने यस आवमा दुई अर्ब ७७ करोड ५३ लाख ९७ लाख बराबरको आय नेपालमा भित्रिएको देखिन्छ ।
गत वर्षको साउनदेखि पुसमा ६७ लाख २२ हजार १९० किलो चिया निकासी भएको उल्लेख छ भने यस वर्ष बढेर ८७ लाख ८५ हजार ७२३ किलो निकासी भएको तथ्याङ्कमा देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष ६७ दशमलव ५० प्रतिशत निकासी मूल्य बढेको देखिन्छ । गत वर्षभन्दा यस वर्ष नेपाली चियाले अब्बल मूल्य पाएको देखिन्छ । पछिल्लो समय तेस्रो मुलुकमा चिया निकासी बढेकाले पनि चियाको मूल्य बढेको सरोकारवालाको भनाइ छ । चियाको ठूलो बजार भारत भए पनि कतिपय व्यवसायीले तेस्रो मुलुक चिया पुर्याउने गरेका छन् ।
भारतको तुलनामा तेस्रो मुलुकमा चियाको मूल्य बढिरहेकाले नेपाल भित्रिने आयमा वृद्धि भएको हुनसक्ने केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बताउछन् । चियाले समग्र निकासी हुने वस्तुमध्ये सातौँ बढी निकासी हुने वस्तुमा परेको छ । यसले निकासीको चार दशमलव ५६ प्रतिशत हिस्सा ओगटेको केन्द्रको तथ्याङ्कले देखाउँछ । यस्तै नेपालबाट उल्लेखनीय निकासी हुने कृषिजन्य वस्तुमा पर्छ, अदुवा । यसपटक अदुवामा सुक्ष्मरूपमा मात्र सुधार देखिएको छ । गत आवको यो अवधिमा २८ करोड ५६ लाख चार हजारको आम्दानी भित्रिएको अदुवाले यस आवको अहिलेसम्ममा २९ करोड ५१ लाख ५७ लाख बराबरको आम्दानी भित्रिएको देखिन्छ ।
गत वर्षको साउन देखि पुसमा ४९ लाख ९६ हजार ३५२ केजी अदुवा निकासी भएकोमा यस आर्थिक वर्षको अहिलेसम्ममा ६९ लाख ८५ लाख ८०६ केजी निकासी भएको देखिन्छ ।
गत आर्थिक वर्षको तुलनामा यस आवको अहिलेसम्ममा तीन दशमलव ३४ प्रतिशत आय वृद्धि भएको छ भने जम्मा निकासीको शून्य दशमलव ५१ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ । अदुवा बढी निकासी हुने वस्तुमध्ये २०औँ स्थानमा परेको छ । यस वर्ष सबैभन्दा बढी नेपालबाट निकासी हुनेमा सोयाविन तेल परेको छ । गत वर्षको तुलनामा २९० प्रतिशत वृद्धि हुँदै समग्र निकासी हुनेमध्ये २८ दशमलव दुई प्रतिशत बजार ओगट्न सफल भएको छ । यस वर्ष अदुवाको उत्पादन कम भएकाले पनि खासै अन्तर नदेखिएको हो । गत वर्ष भाउ नआएकाले यस वर्ष खासै धेरै अदुवा खेती गरेका थिएनन् । अदुवाको भाउ गत वर्षको तुलनामा केही बढ्यो । अस्थिर बजार मूल्य भएकाले पनि किसानले उल्लेखीय मूल्य नपाएको अदुवा व्यावसायी मात्रिका घिमिरेको भनाइ छ ।
गतको वर्षको तुलनामा पनि यस वर्ष समग्र निकासी बढेको देखिन्छ । यसले राष्ट्रको शोधानान्तर घाटा घटेको छ । गत आवको यस अवधिमा आयातको तुलनामा सात दशमलव छ प्रतिशतको निकासी भएकामा यस वर्ष पाँच दशमलव नौ प्रतिशतको निकासी भएको देखिन्छ । यस आव साउनदेखि पुससम्ममा ६० दशमलव ८० विलियनको निकासी भएकामा ६६१ विलियन बराबरको पैठारी भएको छ । हालसम्मको जम्मा व्यापार ७२२ विलियन बराबरको आयात–निर्यात भएको छ । केन्द्रको तथ्याङ्कअनुसार ६४५ विलियन बराबरको घाटा भएको देखिन्छ । आयात र निर्यात बीचको अन्तर हेर्दा आयातभन्दा निर्यात १० दशमलव नौ बराबर बढी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया