सुदूरपश्चिमको एक मात्र जिल्ला डडेल्धुरा विमानस्थल विहीन

RSS
0
Shares

डडेल्धुरा । डडेल्धुरा जिल्ला साविकको सुदूरपश्चिम विकास क्षेत्रको मध्यबिन्दु रहेपनि अहिलेसम्म यहाँ एउटै विमानस्थल छैन । विभिन्न समयमा विमानस्थल निर्माणका लागि अध्ययनहरु भएपनि कुनै ठोस पहल नहुँदा यस क्षेत्रको पर्यटकीय सम्पदाहरु ओझेलमा परेका छन् ।

नागरिक उडड्यन तथा मन्त्रालय अन्तर्गतको नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जय गौतम नेतृत्वको टोलीले २०७२ साल डडेल्धुरामा तीन वटा सम्भावित ठाउँमा पुगी विमानस्थलका लागि अध्ययन गर्‍यो तर काम अगाडि बढ्न सकेन् । त्यतिबेला सो टोलीमा सहभागी नेकपा डडेल्धुराका नेता डा तारा जोशीका अनुसार केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री भएको बेला तत्कालीन नेकपा ९एमाले०को तर्फबाट उक्त पहल कदमी गरे पनि त्यसका लागि अन्य जिल्लाको सहमत नभएका कारण विमानस्थलको योजना अगाडि बढ्न सकेन ।

त्यतिबेला जिल्लाका तीन स्थानमा विमानस्थलका लागि अध्ययन टोलीले अध्ययन गरेको हो । प्राविधिक टोलीले डडेल्धुरा सदरमुकाम नजिकै जोडिएको अमरगढी नगरपालिका–३ स्थित विरादेई, गन्यापधुरा गाउँपालिका–१ मा पर्ने भागेश्वर सामुदायिक बन असिग्राम र अजयमेरु गाउँपालिका–१ मा पर्ने बकायल गरी तीन ठाउँको अध्ययन गरेको थियो । सम्भावना भएका ती ठाउँमध्ये एब्रो जहाजसम्म सञ्चालनमा ल्याउन सकिने सबैभन्दा उपयुक्त ठाउँ बकायल नै भएको टोलीको निस्कर्ष रहेको थियो ।

डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले हाल पार्स्वचित्र९प्रोफाइल० तयार गरी विमानस्थल निर्माणको सम्भावना र त्यसले जिल्लामा हुन सक्ने विकासका विषयमा अध्ययन गरिरहेको छ । कमिटेड नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरपालिकाको पार्स्वचित्र निर्माणको काम भइरहेको छ ।

पार्स्वचित्र निर्माणपछि नगरपालिकामा विमानस्थलका लागि गुरुयोजना बनाई प्राधिकरणसँग विमानस्थलका लागि पहल गर्ने नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए । उनी डडेल्धुरामा विमानस्थलको उपयुक्त वातावरण भएको र त्यहाँबाट अन्य पहाडी जिल्लामा आवातजावतका लागि पनि एकदमै उपयुक्त हुने बताउछन् । धनगढीबाट सञ्चालन हुने गेटा विमानस्थलमा हिउँद् र बर्खायामको बेला कुहिरोका कारण नियमित उडान नहुने हुँदा समस्या आउने गरेको छ । डडेल्धुरामा औसत मौसम राम्रो हुने गरेकाले विमान सेवा नियमित सञ्चालनमा कठिनाइ नहुने उनको भनाइ छ ।

डडेल्धुरामा विमानस्थन निर्माण भई सञ्चालनमा आए यहाँको व्यापार व्यवसायसमेत फस्टाउने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले बताए । जिल्लाको कतिपय भूभाग भारतसँग जोडिएको सीमा क्षेत्र भएकाले व्यापार प्रवर्द्धनमा पनि विमानस्थलले सहयोग पुग्ने उनको भनाइ छ । डडेल्धुराका कतिपय पर्यटक स्थल, मल्लकालीन राजदरबार, विभिन्न शक्ति पीठ आन्तरिक तथा बाह्य पर्यटक आगमनका लागि आकर्षक गन्तव्य स्थल बन्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?