इङ्ल्याण्ड र स्कटल्याण्डमा नयाँ लकडाउन घोषणा

काठमाडौं । इङ्ल्याण्ड र स्कटल्याण्डमा नयाँ लकडाउन घोषणा भएको छ । इङ्ल्याण्ड, स्कटल्याण्ड र आयरल्याण्डका धेरैजसो विद्यालयहरु बन्द छन् ।

यता, उत्तरी आयरल्याण्डमा भने दूरी शिक्षालाई बिस्तारित रुपमा पढाइंदैछ । कम्तिमा फेब्रअरीसम्म इङ्ल्याण्डमा कडाई कायम रहनेछ, स्कटल्यान्डमा जनवरीको अन्त्यमा लकडाउनबारे समिक्षा हुनेछ ।

बुधवार बिहानैदेखि लकडाउन शुरु हुने प्रधानमन्त्री बोरिस जोनसोनले बताएका छन् । उनले आगामी हप्ताहरु निकै कठिन हुने चेतावनी दिएका छन् । बेलायतमा सोमवार एकैदिन ५८ हजारभन्दा धेरैमा कोरोना देखिएपछि नियम कडा बनाइएको हो ।

लकडाउन घोषणा गर्दै प्रधानमन्त्री जोनसोनले अस्पतालहरु महामारी शुरु भएयताकै सबैभन्दा धेरै चापमा रहेको बताए ।

उनले महत्वपूर्ण काम बाहेक अन्य सबैलाई घरमा बस्न निर्देशन दिए । स्वास्थ आवश्यकता, खाद्यान्न, किनमेल, व्यायाम र घरमा गर्न नसकिने कामका लागि भने बाहिर निस्कन पाइने उनले बताए । त्यस्तै, कति जोखिममा रहेका जनसंख्या, स्वास्थकर्मी, वृद्धवृद्धालगायतलाई फेब्रुअरी मध्यसम्म एक डोज भ्याक्सिन दिइने उनले बताए ।

कोरोना भाइरसको नयाँ स्वरुप तिव्र रुपमा फैलिँदा बेलायत र सम्पूर्ण युरोपमा संक्रमित संख्या ह्वात्तै बढेको छ । बेलायतमा अहिलेसम्म २७ लाख १३ हजारभन्दा धेरै जनसंख्या संक्रमित भइसकेको छ । यहाँ ७५ हजार ४ सय ३१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?