एजेन्सी । महिलाहरूले सवारी साधन चलाउन पाउने वकालत गर्दैै आएकी साउदी अरबकी महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय भएको छ। उनलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।
सो आरोपमा उनीसहित केही अधिकारवादीहरूलाई सन् २०१८ मा पक्राउ गरिएको थियो।
३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन्। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटक(पटक उनलाई रिहा गर्न माग गर्दै आएका छन्।
तर सोमवार आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ।
उनलाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको हो। दुई वर्ष १० महिनाको सजाय भने रद्द गरिएको बताइएको छ।
हथलुल र उनको परिवारले भने उनीविरुद्धका सबै अभियोग अस्वीकार गर्दै आएको छ । उनलाई जेलमा यातना दिइएको समेत परिवारको दाबी छ तर त्यो दाबीलाई अदालतले खारेज गरिदिएको छ। हथलुललाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया