फरार प्रतिवादी ढकाल १६ बर्षपछि पक्राउ, सुरक्षाकर्मी हुँ भन्दै लुटेका थिए ११ लाख !

काठमाडौं । प्रहरीले फरार प्रतिवादीलाई १६ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका ७ बस्ने ३९ वर्षीय जगन्नाथ ढकाल रहेका छन् ।

ढकालसहित अन्य ५ जनाले २०६१ असोज ७ गते नारायण खनाललाई बनेपाबाट जबरजस्ती उनी चढेको मोटरसाइकल रोकी आफूहरु सुरक्षाकर्मी हौँ भन्दै अपहरण गरेका थिए ।

ढकालसहितको समूहले काठमाडौंको जडिबुटीबाट अपहरण गरि मुखमा टेप लगाई भ्यान भित्र राखी खनालसँग भएको ब्यागमा बोकेको नगद १०,२५,००० नगद, उनीसँग भएको बा १६प ६८२१ नम्वरको पल्सर मोटरसाईकल समेत गरी ११,६३,९०० बराबरको धनमाल चोरी गरेका थिए ।

प्रतिवादी जगन्नाथ ढकाल सोही समय देखी फरार रही विदेशमा गई बसेको र पछिल्लो समयमा नेपाल आई लुकिछिपी बसेको अवस्थामा अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोली, जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालयबाट पशुपतिनगरबाट खटिएको सयुक्त टोलीले मिति गत मंसिर १ गते पक्राउ गरेको हो ।

प्रहरीले उनलाई हेटौँडा उपमहानगरपालिका वडा नं ७ बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज नै जिल्ला अदालत काठमाडौं पेस गरिएको प्रहरीले जनाएको छ ।

पीडित खनालले दिएको जाहेरीको आधारमा २०६३ साल फागुन १३ गते पुनरावेदन अदालत पाटनको आदेशले निजलाई थुनामा राख्ने आदेश दिएको थियो । ढकालले तारेख गुजारी बसेकोमा २०६३ साल भदौ ६ गतेको काठमाडौं जिल्ला अदालतको फैसलाले निज प्रतिवादी जगन्नाथ ढकाललाई ६ बर्ष कैद र १ लाख ९६ हजार ६ सय ५० रुपैयाँ जरिवाना समेत तोकेको थियो ।

साथै उक्त घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा ढकाल समेत ११ जना व्यक्तिहरुको संलग्नता रहेको खुल्न आई प्रतिवादी कायम भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?