फेरि सर्‍यो कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।

बिहीवार (भोली) दिउँसो १ बजेका लागि तोकिएको बैठक शुक्रवार १ बजेसम्मका लागि सारिएको कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

साथै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका आग्रह गरिएको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै मुख्यसचिव पौडेलले भनेका छन्,नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कार्तिक २७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।”

आगामी १४ औँ महाधिवेशन नजिकिएपनि पार्टीको केन्द्रीय समितिको बैठक विगत एक महिनादेखि बस्ने भनिएपनि मिति सार्दै आलटाल गरिएको छ ।

गत असोज १९ गतेका लागि बैठक तोकिएको थियो । तर नेताहरुमा कोरोना देखिएपछि असोज २५ गतेसम्मका लागि सारिएको थियो । तर २५ गतेपनि बैठक बस्न सकेन । दशैपछि बस्ने भनिएको बैठक एकाएक कार्तिक २१ गतेका लागि मिति तोकिएको थियो । पार्टीभित्र विवाद बढिरहँदा २४ गतेका लागि पुनः बैठक सारिएको थियो । २४ गतेबाट आगामी बैठक २७ गते बिहीवार अर्थात भोलीका लागि बैठक बस्ने निर्याय गरिएकोमा शुक्रवार सम्मका लागि बैठक सारिएको हो ।

यद्यपी पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक भने बसिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?