काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुले आज पनि अनौपचारिक सचिवालय बैठक बोलाएका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल तथा झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र सदस्य नारायणकाजी श्रेष्ठबीच आज छलफल हुन लागेको हो ।
पार्टीभित्रको आन्तरिक विवादका सन्दर्भमा छलफलका लागि आज अपरान्ह ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको स्रोतले जनाएको छ ।
प्रचण्ड समूहले प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी विवाद समाधानका लागि सचिवालय बैठक बोलाउन दवाव दिइरहेका छन् । तर ओलीले भने त्यसको आलटाल गरिरहेका छन् । यसअघि पनि प्रचण्ड समूहले गत शुक्रवार पनि पार्टी कार्यालयमा सचिवालयको अनौपचारिक बैठक बसि छलफल गरेको थियो ।
पछिल्लो समय पार्टी विवाद चरम बिन्दुमा पुगेको छ । विवाद समाधानउन्मुख भन्दापनि गुटगत भेलाले प्रसय पाउन थालेका छन् ।
यसअघि गत आइतवार ओली प्रचण्डबीच भेटघाट भएको थियो । तर पार्टी विवादबारे कुनै ठोस निष्कर्ष भने निस्किएको थिएन ।
सोमवार नेकपाको विवाद समाधानको लागि गठित समितिका सदस्यहरुसँग ओलीले भेटघाट गरेका थिए । भेटघाटपश्चात पार्टीका महासचिव समेत रहेका समिति संयोजक विष्णु पौडेल ओलीको दूतका रुपमा प्रचण्ड निवास खुमालटार पुगि बैठक बोलाउने बताएका थिए । तर प्रचण्डले भने बैठक मात्रै नभइ सहमती नै खोजेको बताएर पठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया